धरान: एक ८ बर्षीय नावालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि विवादित छविका श्री सुब्बा पक्राउ परेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय धरानले आज साँझ साढे ६ बजे पक्राउ गरेको हो । धरानको सारंगातर्फ पैदल हिड्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी समाजवादी जनता दल सम्बद्ध युवा संगठनका प्रदेश १ का अध्यक्ष पनि हुन् । तर, राजनीतिक आवरणमा समाजमा अराजक गतिविधि गर्ने गरेको आरोप उनलाई लाग्दै आएको छ । साथै, उनी थुप्रै पटक पक्राउ परिसकेका छन् ।

सुब्बा पक्राउ परेको पुष्टि डिएसपी ढुण्डीराज न्यौपानेले गरे । उनका अनुसार एक नावालिकालाई विगत १० दिनदेखि बलात्कार गरेको उजुरी ३ दिनअघि (जेठ ५) गते प्रहरीमा आएको थियो । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो भने सुब्बा फरार थिए । प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर आज पक्राउ गरेको डिएसपी न्यौपानेले बताए । ‘पैसा दिएर ललाईफकाई करणी गरेको बच्चीको वयान छ,’डिएसपी न्यौपानेले भने,‘फरार थियो, आज सारंगातिर पैदल जादै गरेको बेला पक्राउ गरिएको हो । भोली म्याद थप गछौं ।’