धरान: टाउकोको शल्यक्रियाको क्रममा निधन भएको भनिएका मोरङको केराबारी ९ बेलचौरीका ३० बर्षीय बिक्की ऋषिदेवको शव धरान ल्याइएको छ ।

टाउकोको उपचार गर्न लगिएका ऋषिदेवको शनिबार विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । आर्थिक अवस्था कमजोर भएका उनको शव अस्पतालको बिल तिर्न नसकेर २ दिनसम्म अस्पतालमा नै रहेको थियो । स्थानीयले सहयोग संकलन गरेर हिजो सोमबार शुल्क तिरेपछि साँझ शव केराबारी लगिएको थियो । राती शवको अन्त्येष्टी गर्ने बेला पेटमा टेप लगाएको देखिएको र टेप उप्काएर हटाउदा टाँका लगाएको देखिएपछि स्थानीयबासीले आशंका व्यक्त गर्दै पोष्टमार्टमको माग गरेका थिए ।

ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार स्थानीयबासीले शवको पेटमा टाँका लगाएको अवस्था देखिएकोले शंका व्यक्त गरेको कारण पोष्टमार्टम गर्न शवलाई धरान पठाइएको बताए । 'हिजो राती ११ बजेतिर खबर आयो । शवलाई धरानको वीपी हस्पिटलमा पठाएका छौं,'उनले भने,'स्थानीयबासीले पोष्टमार्टम गर्नुपर्छ भनेकोले त्यसैको लागि धरान पठाएको हो ।' प्रहरी निरीक्षक ढकालका अनुसार मृतकको शवको पेटमा डेढ इञ्ज जति चिरेर टाँका लगाएको देखिएको छ । त्यसैमा स्थानीयले आशंका व्यक्त गरेको उनको भनाई छ ।

मृतक ऋषिदेवको उपचार गरिएको नोबेल मेडिकल कलेजका डाक्टरले भने टाउकोको शल्यक्रिया गर्दा पेट चिर्नु सामान्य भएको बताएका छन् । अनलाइन मिडियासँग कुरा गर्दै डा.प्रकाश काफ्लेले टाउकोको शल्यक्रिया गर्दा पेटमा पाइप राख्नको लागि प्वाल पारिने बताएका छन् । टाउकोमा कान छेऊबाट पाइप निकालेर पेटमा नाइटो छेउमा राखिने र टाउकोमा जमेको पानी वाइपास गरिने डा.काफ्लेले दाबी गरेका छन् ।

जाहेरीमा ढिलाई

पोष्टमार्टम गर्ने भनेर केराबारीका मृतक ऋषिदेवको शव हिजो राती नै धरान ल्याइएको थियो । आज मध्याह्न भइसक्दा पनि उनको शवलाई के गर्ने भनेर निक्यौल हुन सकेको छैन । बेलबारीका प्रहरी निरीक्षक ढकालले मृतक परिवारले जाहेरी दिएपछि मात्र पोष्टमार्टम प्रक्रिया अघि बढ्ने बताए । उनले मृतकका परिवारलाई जाहेरी दिनको लागि सम्पर्क गरेको बताए । 'उहाँहरुले जाहेरी दिनुपर्छ । जाहेरी धरान वा बेलबारी जही दिदा पनि हुन्छ । मैले सम्पर्क गरेर बेलाएको छुँ,'प्रहरी निरीक्षक ढकालले भने,'जाहेरी आएपछि पोष्टमार्टमको लागि धरान प्रहरीलाई पत्राचार गछौं ।'