धरान: निक्कै विवादमा रहेको धरान ११ की सुनिहाङ्मा लिम्बुको रहस्यमय मृत्यु प्रकरणले नयाँ मोड लिएको छ ।

माइती पक्षले हत्या गरेको दाबीसहित किटानी जाहेरी दिएको यो प्रकरणमा सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहन मुद्दामा अभियोग दर्ता गरेको छ । प्रहरीले अनुसन्धान पुरा गरि मिसिल बुझाए पछि आज (आइतबार) सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सुनसरीमा ४ जना विरुद्ध अभियोग दर्ता गरेको हो । सरकारी वकिल गोकुल निरौलाका अनुसार शारीरिक, मानसिक यातना दिएर आत्महत्या गर्न दुरुत्साहन गरेकोमा अभियोग दर्ता भएको छ । ‘आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा अभियोग दर्ता भएको छ,’निरौलाले भने ।

सरकारी वकिल निरौलाका अनुसार अस्पतालबाट पोष्टमार्टम रिपोर्ट पनि मृत्युको कारण झुण्डिएर भन्ने उल्लेख गरेको छ । त्यसअनुसार पनि कर्तव्य ज्यान मुद्दामा अभियोग पत्र दर्ता गर्न नमिल्ने उनको भनाई छ । ‘डाक्टरको रिपोर्टमा नै प्रष्ट झुण्डिएको भन्ने छ,’उनले भने,‘भोली सोमबारदेखि प्रतिवादीहरुको वयान शुरु हुन्छ । त्यसपछि मात्र थुनछेक बहस हुन्छ ।’

गत भदौ २२ गते बिहान धरान ११ स्थित घरमा सुनिहाङ्माको मृत्यु भएको थियो । आफ्नै कोठामा पंखामा सलले पाशो लगाएर आत्महत्या गरेको परिवारको दाबी छ । तर, प्रहरी र जनप्रतिनिधिहरु पुग्दा भने एक छिमेकी युवती र देवरले पाशोबाट झिकेर उनको शव खाटमा राखिएको थियो । त्यसैले माइती पक्षले हत्या आशंका गर्दै श्रीमान आइत माबोसहित ५ जनाविरुद्ध उजुरी दिएका थिए । सोही उजुरीको आधारमा मृतकको ससुरा, देवार र २ जना आमाजुसहित ४ जना पक्राउ परेका थिए । मृतकका श्रीमानका परिवारले भने हत्या नगरेको र बुहारी बाच्छिन् कि भन्ने आशामा पाशोबाट झिकेको बताउदै आएका छन् ।मृतक सुनिहाङ्माको करिब ३ महिना अघि मात्र आइत माबोसँग विवाह भएको थियो । आइत सिंगापुरे लाहुरे हुन् । उनी अहिले पनि सिंगापुरमा नै छन् । विवाह अघिको प्रेम सम्बन्धलाई लिएर मानसिक तनाव दिने गरेको माइती पक्षको आरोप छ ।