धरान: सिंगापुर लाहुरेसँग विवाह गरेको ३ महिनामै धरान ११ की २२ बर्षीया सोनी हाङमा लिम्बुको रहस्यमय मृत्यु भएको घटनामा ४ जना पक्राउ परेका छन् ।

प्रहरीले सोनीको श्रीमान् आइत माबोका परिवारका ४ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ । मृतक सोनीका माइती पक्षले हिजो किटानी जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा अदालतबाट अनुमति लिएर केटा पक्षका ४ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । पक्राउ परेकाहरुमा मृतकका ससुरा ६१ बर्षीय भीम माबो छन् भने देवर २० बर्षीय हेमकुमार माबो, केटाकी दिदी २८ बर्षीया सञ्जु माबो र २५ बर्षीया विमला माबो रहेका छन्। ‘किटानी जाहेरी परेको थियो, आज अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो,’उनले भने ।

सोनीले २ दिनअघि सोमबार आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । तर, प्रहरी पुग्दा भने उनको शव खाटमा राखिएको अवस्थामा भेटिएको थियो । परिवारले भने सलले पंखामा पाशो लगाएर झुण्डिएको अवस्थामा देखेको र छिमेकी एक युवती आएर पासो खोलेर खाटमा राखेको बताउदै आएका छन् । तर, मृतक सोनीको माइती पक्षले भने उनलाई मानसिक यातना दिने गरेको भन्दै उनले आत्महत्या नभै हत्या भएको दाबी गरेका छन् ।