धरान: उपमेयर अइन्द्र बिक्रम बेघाको घरमा आक्रमण गरेको भनिएको घटनामा दुई युवा घाइते भएका छन् । 

घाइते हुनेमा उपमेयर बेघाका कान्छा भाई विष्णु बेघा र अर्काे समुहका युवा सन्देश राई छन् । दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उपमेयर बेघाको भाई विष्णुको टाउको र अनुहारमा चोट छ । यद्यपी उनको अवस्था सामान्य छ । अर्को समुहका भनिएका सन्देश राईको अवस्था भने गम्भीर छ । उनको शरीरमा पछाडि कम्मरमा धारिलो हतियार प्रहारबाट गहिरो चोट लागेको छ । चिकित्सकहरुले सन्देशको अप्रेशन गर्नुपर्ने बताइरहेका छन् ।

घटना के भएको हो भन्ने प्रष्ट भइसकेको छैन । दुई टोलका युवाहरुबीच पुरानो रिसइबीले मंगलबारको घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले गम्भीरतापुर्वक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । ‘घाइतेमध्ये विष्णु बेघा उपमेयरको भाई हो, र उहाँको घरमा युवाहरुको समुहले ढुंगा हाने भन्ने छ,’डिएसपी भण्डारीले भने,‘घटनाको अनुसन्धान भइरहेको छ । प्रहरीहरु फिल्डमा नै खटिएका छन् ।’

sandesh

उपमेयर बेघाले आफ्नो घरमा आक्रमण हुँदा प्रहरीलाई समयमै खबर गर्दा पनि नआएको भन्दै धरानका डिएसपीलाई फोन गरेको फेसबुक लाइभ गरेपछि घटनाप्रति सबैको चासो भएको थियो । युवाहरुले घरमा आएर ढुंगामुढा गरेर परिवारलाई आतंकित बनाएको उपमेयर बेघाले बताए । ‘वल्लो र पल्लो टोलका युवाहरुको व्यक्तिगत समस्या होला तर घरमा आएर ढुंगामुढा गरेर परिवार सबैलाई आतंकित बनाएछन्,’ उपमेयर बेघाले भने,‘प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ 

दुवै घाइतेलाई उपचार गराउन पुगेका युवाहरुबीच वीपी प्रतिष्ठानको इर्मजेन्सीमा पनि कुटाकुट भएको थियो । त्यसक्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । दुवै पक्षले शुरुमा अर्को पक्षले आक्रमण गरेपछि प्रतिकार गरेको दाबी गरिरहेका छन् । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको युवाले शुरुमा उपमेयर बेघाको भाईले आक्रमण गरेपछि सन्देश राईको समुहले विष्णु बेघालाई आक्रमण गरेको वयान दिएका छन् । 

begha1

घाइते विष्णु बेघाले भने अर्को समुहका युवाहरु गाउँमा आएको थाह पाएपछि कुरा गर्न जादा बाटोमा भेट हुदा एक्कासी आक्रमण गरेको बताए । हुलमुलमा सन्देशलाई आफुले देखेपनि कस्ले आक्रमण गरेको भन्ने थाह नभएको उनले बताए । अर्को समुहका युवाहरुले ग्याटिसले ढुंगा हानेर टाउको, जिउमा चोट लागेको पनि उनले बताए ।

यसैबीच, राती नै उपमेयर बेघा घाइतेको अवस्था बुझ्न प्रतिष्ठानको इर्मजेन्सीमा पुगेका थिए । उनले घाइते सन्देशको अवस्था जानकारी लिदै उनको आमालाई पनि भेटेका थिए । 

भिडियो: