धरान:धरानका मेयर हर्क साम्पाङ खानेपानी आपूर्ति सुधार गर्न फिल्डमा नै उत्रिए पछि बिग्रिएको पम्प मर्मत कार्य शुरु भएको छ । 

मेयर साम्पाङले बुधबार र बिहिबार लगातार खानेपानी आपूर्ति सहज बनाउन फिल्ड भिजिट गरेका थिए । दुवै दिन उनले खानेपानी आपूर्तिलाई सहज गर्न बिग्रेका पम्प बनाउन निर्देशन दिएका थिए । उनको फिल्ड भिडिट पश्चात आज बिहानदेखि चारकोशे जंगलस्थित पुरानो संरचनाको बिग्रेको ४ नम्बर पम्प मर्मत कार्य भइरहेको छ । आज बेलुकीसम्म मर्मत भइसक्ने र सञ्चालनमा आउने खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए ।

dharan-water

मेयर साम्पाङले मंगलबार पदभार ग्रहण गरेका थिए । त्यसलगत्तै मतदातालाई धन्यवाद ज्ञापन गर्न हिडेका उनी आफ्नो प्रमुख प्राथमिकता रहेको खानेपानी आपूर्ति सुधार गर्न पनि निरन्तर फिल्डमा नै छन् । उनले बुधबार खानेपानीको मुहान सर्दु जलाधार क्षेत्रमा पुगेर स्थलगत अवलोकन गरेर तत्काल मर्मत गर्न निर्देशन दिएका थिए ।

दोस्रो दिन बिहिबार चारकोशे जंगलस्थित पानीको वेल तथा पम्पहरुको स्थलगत निरीक्षण गरेर बिग्रेको पम्प तत्काल मर्मत गरेर पुर्णक्षमतामा चलाउन निर्देशन दिएका थिए । कार्यकारी निर्देशक पोखरेलका अनुसार पुरानो संरचनाहरु भएको सबै ठाउँमा मेयरलाई स्थलगतरुपमा निरीक्षण गराइएको थियो । 

'जनतालाई गुनासो गर्ने ठाउँ दिनुहुदैन' 

mayor 1

मेयर साम्पाङले धरान खानेपानी व्यवस्थापन बोर्ड तथा त्यसअन्तर्गतका कर्मचारीहरुलाई जनताको गुनासो आउन नदिने गरि काम गर्न निर्देशन दिएका छन् । बिहिबार बोर्डमा अध्यक्षकोरुपमा उपस्थित भएका मेयर साम्पाङले त्यसो नगरे फेरि अर्को हर्क साम्पाङ जन्मने बताए ।

आफुलाई धराने जनताले पानी खुवाउनकै लागि पठाएको धारणा राख्दै मेयर साम्पाङले विगतमा जनताको आवाजकोरुपमा दबाब दिएर हिडेको तर अहिले एकै टिममा भएकोले मिलेर काम गर्न पनि आग्रह गरे । अ'हिले हामी एक टिममा छौ, अब हाम्रो टिमको उद्देश्य भनेको जनतालाई पानी खुवाउने हो । अरु काम नगरेर भएपनि पानी खुवाउनुपर्छ,'मेयर साम्पाङले भने,'वितरण प्रणालीमा पनि समस्या छ । कहा के के मर्मत सम्भार गर्नुपर्नेछ, गर्नुपर्छ । काम गर्नुपर्यो । जनतालाई गुनासो हुने ठाउँ दिनु भएन, नत्र फेरि अर्को हर्क साम्पांग जन्मिन्छ । '

भिडियो: