धरान: कम गुणस्तरको वाईवाई चाउचाउ उत्पादन गरेको पुष्टि भएपछि धरान उपमहानगरपालिकाले सिजी कम्पनीलाई २ लाख ५० हजार जरिवाना गर्ने निर्णय गरेको छ । 

सिजीको वाईवाई परीक्षण गर्दा कम गुणस्तर भएको रिपोर्ट आएपछि उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको बजार अनुगमन समितिले जरिवाना गर्ने निर्णय गरेको हो । बिहिबार उपमेयर बेघाको अध्यक्षता र मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा आयोजित समितिको बैठकले सिजीलाई २ लाख ५० हजार जरिवाना गर्ने निर्णय गरेको बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । 

सापकोटाका अनुसार वाईवाई चाउचाउ खरिद गरेर लगेका उपभोक्ताले दुर्गन्ध आएको गुनासो असोज २५ गते गरेका थिए । उपभोक्ताले धरान १५ मदनआश्रित मार्गको आयुष स्टोरबाट किनेको जानकारी दिएपछि बजार अनुगमन अधिकृतसहितको टोली पुगेको थियो । उक्त स्टोरबाट मुचुल्का उठाएर वरामद गरेको चाउचाउ २६ गते परीक्षणको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवामार्फत विराटनगरको प्रयोगशालामा परीक्षणको लागि पठाएको थियो । 

waiwai1

परीक्षणको रिपोर्टमा एक्स्ट्राक्टेड फ्याट को एसिड भ्यालु १ भन्दा बढी नहुनुपर्नेमा २.८५ देखिएको थियो । तोकिएको भन्दा बढी एसिड भ्यालु भएको रिपोर्ट आएकोले यो कम गुणस्तरको खान अयोग्य चाउचाउ भएको पुष्टि भयो, अनुगमन अधिकृत सापकोटाले भने, त्यसैले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवा, इलाका प्रशासन, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च सबैको उपस्थितिमा बैठक बसेर कानुनमा भएको व्यवस्था वमोजिम तत्काल २ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको छ । 

सापकोटाका अनुसार बैठकले सुनसरीको गढी गाउँपालिका २ औरावनीमा कार्यालय भएको सिजी कम्पनीलाई जरिवाना तोकिएको हो । जरिवाना शुक्रबार तिर्ने कम्पनीले प्रतिवद्धता जनाएको र जरिवाना नतिरेसम्म धरानमा वाईवाई चाउचाउ बिक्रीवितरण नगर्न निर्देशन पनि दिइएको उनले बताए । साथै, समितिले वरामद गरेको ९ कार्टुन चाउचाउ र खुला रहेको ८२ प्याकेट चाउचाउ पनि नष्ट गरिएको सापकोटाले जानकारी दिए ।