धरान: धरान ११ कल्याण चोकमा रहदै आएका एक युवाको कोरोना संक्रमणबाट दुबईमा मृन्यु भएको छ ।

एक साताअघि अमर बान्तवा(राई)को कोभिड १९ बाट दुबईको अस्पतालमा निधन भएको हो । उनको निधन कोभिड १९ बाट भएको मेडिकल रिपोर्ट कम्पनीले धरानमा रहेका परिवारजनलाई पठाएको छ । केही दिनदेखि सामाजिक सञ्जालमा उनको निधनबारे खबर फैलिएको थियो । वडा नं ११ का जनप्रतिनिधि एवं वडा सदस्य कृष्णप्रसाद रिजालले पनि अमरको कोरोनाले निधन भएको मेडिकल रिपोर्ट परिवारले पाएको पुष्टि गरे ।

कोरोनाले मृत्यु भएको कारण अमरको शव दुबईमा नै अन्त्येष्टि गरिने र त्यसको लागि स्वीकृतिको सिफारिश पनि वडाले उपमहानगरमार्फत पठाइएको रिजालले बताए । ‘शव जलाउने हो कि गाड्ने हो भनेर सोधेको रहेछ । त्यसैको सिफारिश वडा कार्यालयबाट नगरपालिकामा गरेका छौं, त्यहाँबाट पनि सिफारिश भइसक्यो होला,’उनले भने,‘ठ्याक्कै एक साता अघि निधन भएको रहेछ । पहिला क्वारेन्टाइनमा छुँ भनेर फोन आएको थियो रे, पछि आइसोलेसनमा लादैछ भनेर पनि फोन गरेको थिएछ ।’

उपमेयर मञ्जु भण्डारी सुवेदीले उपमहानगरपालिकाबाट पनि परराष्ट्र मन्त्रालयमा सिफारिश गरिएको बताइन् । ‘एकदमै दुःखद घटना भएछ । उहाँको शव यता ल्याउन पनि नमिल्ने भएकोले दुबईमा नै अन्त्येष्टी गर्न परिवारको अनुमति चाहिने भएर यहाँबाट सिफारिश गरिएको छ,’उपमेयर भण्डारीले भनिन् । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार उपमहानगरले परराष्ट्र मन्त्रालयमा सिफारिश गरेर पठाएको हो । मन्त्रालयले उक्त सिफारिश पत्र दुताबासमा पठाउने उनले बताए ।

मृतक राईको परिवार धरान ११ स्थित कल्याण चोकमा बस्दै आएका छन् । उनको श्रीमति र सानी छोरी छिन् । उनको बुबा पनि सँगै छन् । दुबईमा लामो समयदेखि कार्यरत उनी एक बर्ष अघि मात्र विदामा आएर फर्किएका थिए । धरान ११ मा नै निर्माणाधिन घर पनि पुरा गर्न बाँकी रहेको वडा सदस्य रिजालले जानकारी दिए ।