धरान: खुदी मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले २ लाख रुपैया जरिवाना तोकेको छ । 

अनुगमन टोलीको फिल्ड रिपोटको आधारमा बिहिबार प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटट्राईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैया गरिवाना गर्ने निर्णय गरेका हुन् । धरान ११ स्थित चण्डेश्वरी कुटानी पिसानी मिलमा भदौ २ गते अनुमगन गर्दा बेसारमा चामलको खुदी मिसाएर पिस्दै गरेको फेला परेको थियो । अनुगमन टोलीले तत्काल मिल बन्द गराएर मिसावट गरिएको १३ बोरा बरामद गरि उपमहानगरपालिका लगेको थियो भने ४५ बोरा बेसार मिलमै छोडेको थियो । 

अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार मिल सञ्चालक र व्यपारीले जरिवाना रकम राजश्वमा जम्मा गरेपछि मिसावट गरिएको बेसार नष्ट गरिनेछ । त्यसपछि मात्र मिल पुनः सञ्चालनको अनुमति दिइने सापकोटाले बताए । उनका अुनसार वरामद गरेर ल्याइएको १३ बोरामा ६२३.५ केजी मिसावट गरिएको बेसार छ भने मिलमै राखिएको ४५ बोरामा करिब २ हजार किलो मिसावट गरिएको बेसार छ ।

मिलका सञ्चालक गोर्खामान श्रेष्ठले बिहिबार आफ्नो गल्ती भएको भन्दै उपमहानगरपालिकामा सजाय माफी मिनाहाको निवेदन दिएका थिए । तर, मेयर हर्क साम्पाङले स्वास्थ्यमा खेलवाद सह्य नहुने भन्दै हदैसम्मको कारबाही गर्न अनुमगन अधिकृत सापकोटालाई निर्देशन दिएका थिए । खाद्य निरीक्षक वादल चेम्जोङका अनुसार खुदीलाई बेसार जस्तो देखाउन फुड कलर पनि मिसाउने गरेको भेटिएको छ । फुड कलर पकाउन मिल्ने खाद्य पदार्थमा मिसावट गर्न नपाइने भएकोले त्यसले स्वास्थ्यमा असर पुग्ने र बेसार खरिद गर्दा उपभोक्ताले खुदी पनि पाउने भएकोले ठगी पनि भइरहेको उनले बताइन् । 

भिडियो: