धरान: शनिबार (आज) बिहान अचानक आएको हावाहुरीले पटनाली जंगलमा रुख ढल्दा एक जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार करिब सवा १० बजे रामधुनी नगरपालिका ६ झुम्काका ६० बर्षीय मुनरलाल चौधरीको मृत्यु भएको हो । बराहक्षेत्र नगरपालिका ३ स्थित पटनाली जंगलमा पर्ने मदन भण्डारी राजमार्गमा पकलीबाट चतरातर्फ जार्दै गर्दा को २९ प ५५०२ नम्बरको स्कुटरलाई सखुवाको रुख ढल्दा लागेको थियो । उक्त रुखको हाँगाले लागेर स्कुटरमा पछाडि सवार चौधरी घाइते भएका थिए । 

घाइते चौधरीलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । चौधरीको टाउकोमा चोट लागेको थियो । प्रतिष्ठानका चिकित्सकहरुले ११ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । स्कुटी चालक २० बर्षीय सुरज चौधरीलाई भने केही पनि भएको छैन । शनिबार बिहान अचानक ठुलो हावाहुरी पछि बर्षा भएको थियो ।