धरान: धरान उपमहानगरपालिकाको छैटौं नगर सभा शुक्रबार पहिलो दिन विभिन्न निर्णय गर्दै स्थगित भएको छ । नगरसभा शनिबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

नगरसभाको शुरुवातमा खानेपानीको एजेण्डा कार्यसुचीमा समावेश नगरिएको भन्दै विवाद उत्पन्न भएको थियो । यो विवादले निर्धारित समयमा पनि नगरसभा शुरु हुन सकेन । खास गरी वडा नं ९ का जनप्रतिनिधिहरुले यो बिषय उठान गरेका थिए । खानेपानी जस्तो संवेदनशील बिषयलाई सभाको कार्यसुचीमा प्राथमिकतामा नराखेको भन्दै विभिन्न वडाका जनप्रतिनिधिहरुले विरोध गरेपछि सभामा अवरोध पुगेको थियो । वडा नं ९ ले यसअघि नै खानेपानीको एजेण्डा नगरसभामा कार्यसुचीको प्राथमिकतामा नपरे सभा चल्न नदिने निर्णय नै गरेको थियो ।

खानेपानी एजेण्डाले सभामा अवरोध पुगेपछि खानेपानी संस्थानलाई फागुन मसान्तभित्र धरान खानेपानी व्यवस्थापन बोर्डको मातहतमा ल्याउने निर्णय गरेको नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणीराम राईले जानकारी दिए । ‘पिउने पानी गम्भीर बिषय भएको भन्दै सभामा जोडले कुरा उठ्यो, केही बेर सभामा अवरोध पनि पुग्यो । त्यसैले फागुन मसान्तभित्र संस्थानलाई बोर्ड मातहत ल्याउने गरी फागुनभित्र बोर्डको मातहत संस्थानलाई ल्याउने प्रस्ताव सभामा राख्नुभयो, पारित भयो,’प्रवक्ता राईले भने ।

बजेटको विभिन्न शिर्षक रकमान्तर

dharan-nagar-sava1

 तस्बिर स्रोत: सुदेश चापागाई

नगरसभाले पहिलो दिन विभिन्न वडाको विभिन्न शिर्षकको बजेट रकमान्तर पनि गरेको छ । यसअघि बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमहरु विभिन्न कारणले सम्पन्न हुन नसक्ने अवस्था आएपछि शिर्षकको रकमान्तर गर्ने चलन छ । के कति शिर्षक र बजेट रकमान्तर भयो भन्ने खुलिसकेको छैन ।

यस्तै, पहिलो दिन शुक्रबार कर्मचारी सेवा सम्बन्धी विधेयक २०७६ पनि पारित भएको नगर कार्यपालिका प्रवक्ता राईले जानकारी दिए । ‘कर्मचारीहरु स्थायी, अस्थायी, करार छन् । उनीहरुको सेवा सुविधा, बढुवालगायतको बिषय समेटिएको विधेयक पनि पारित भएको छ,’उनले भने,‘अब भोली शनिबार दिउँसो १ बजेसम्मलाई नगरसभा स्थगित भएको छ ।’

dharan-nagar-sava2