धरान: श्रम सँस्कृति पार्टीका केन्द्रीय सदस्य राजेश खिम्दुङविरुद्ध सोही पार्टीका नगरस्तरीय नेतृद्धारा शारीरिक शोषण, धाकधम्की र मानसिक तनाव दिएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
पार्टीको धरान उपमहानगर कमिटीकी सहसचिवसमेत रहेकी शुक्रकुमारी राईले मंगलबार नेता खिम्दुङविरुद्ध ईलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेकी हुन् । राईले दिएको ठाडो उजुरीमा खिम्दुङले गालीगलौज गर्ने, धाकधम्की दिने, शारीरिक शोषण गर्ने, मानसिक तनाव दिने गरेको उल्लेख गरेका छन् । निवेदक राईले शारीरिक शोषण गरेको गम्भीर आरोप समेत लगाएपनि खिम्दुङलाई झिकाएर आवश्यक छलफल गराउन निवेदनमा माग गरिएको छ ।
प्रहरीमा निवेदन परेको सार्वजनिक भएसँगै पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले केन्द्रीय सदस्यबाट खिम्दुङलाई निलम्बन गरिएको घोषणा गरेका छन् । उनले फेसबुकमा भनेका छन्,‘सामाजिक समस्या देखिएको कुरा के हो सत्यतथ्य पत्ता नलागुञ्जेल सो कुराका टुंगो नलागुञ्जेलका लागि राजेश खिम्दुङलाई पार्टीको के.स.पदबाट निलम्बन गरिएको सबैमा जानकारी गराउदछुँ ।’
पीडित भनिएकी राई र खिम्दुङ गत फागुन २१ को निर्वाचनअघि श्रम सँस्कृति पार्टीमा सँगै प्रवेश गरेका थिए । त्यसअघि उनीहरु दुवै सामाजिक अभियन्ताकोरुपमा निकट थिए । सहकारी पीडितहरुको पैसा फिर्ता गर्नुपर्नेलगायत मुद्दा उठाएर खिम्दुङको नेतृत्वमा भानुचोकमा लामो आन्दोलन हुँदा राईले साथ दिएकी थिइन् ।
गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा खिम्दुङ उदयपुर जिल्लामा उम्मेद्वारसमेत भएका थिए । उक्त चुनावपछि दुवैको सम्बन्ध बिग्रिएको थियो, र राईले सामाजिक सञ्जालमा खिम्दुङबारे आक्रोश व्यक्त गर्दै स्टाटस लेख्दै आएकी थिइन् । फेसबुकमा होन्छेन मोक्तान नामको फेसबुक आइडी चलाउने राईका पछिल्लो पोष्टहरु खिम्दुङसँगको बिग्रिएको सम्बन्धलाई लिएर गरेको देखिन्छ । दुवै जना विवाहित हुन् भने यसअघि पनि विवाद चर्किएर दुवै प्रहरी कार्यालयमा पुगेका थिए ।
आरोपित खिम्दुङले आफुलाई सिध्याउन र श्रम सँस्कृति पार्टीको बेइज्जत गर्न विरोधीहरुले षडयन्त्र गरेको प्रतिक्रिया दिएका छन् । फेसबुकमा भिडियो पोष्ट गर्दै उनले पीडित भनिएकी शुक्रलाई अरुले नै उचालिरहेको उनले दाबी गरेका छन् । 'जसरी पनि राजेशलाई सक्नुपर्छ, उदाउन दिनुहुदैन भनेर त्यो बहिनीलाई अरुले उचालीरहेको छ, प्रयोग गरिरहेको छ, केही समयपछि म भन्छु,' उनले भनेका छन्,'धेरै पहिलादेखि ब्ल्याकमेलिङ गर्ने, कल गर्ने, टिकटक र फेसबुकमा आएर बेइज्जत गरिरहेको थियो ।' खिम्दुङले पहिला पनि आफुविरुद्ध जथाभावी फेसबुकमा बोल्ने, लेख्ने गरेपछि प्रहरीमा उजुरी गरेको र मिलापत्र भएको पनि खुलाएका छन् ।








