धरान: बराह सहकारी स्वतन्त्र पीडित समुहले यो आर्थिक बर्षमा धरान उपमहानगरपालिकाले संकटग्रस्त सहकारी व्यवस्थापनको लागि ५ करोड बजेट विनियोजन गरेकोमा खुशी व्यक्त गरेको छ ।
समुहले आइतबार पत्रकार सम्मेलन गर्दै नगरसभाबाट अनुमोदन भएको बजेटमा ५ करोड (पछि फिर्ता हुने गरि) चक्रिय कोष स्थापना भएकोले सहकारी पीडितहरुमा खुशी र आशा जागेको जनाएको हो । समुहका संयोजक शंकर थापा गाउँलेले व्यवस्थापन समिति लामो समयसम्म गठन नहुँदा निराश बनिसकेका पीडितहरुलाई यसले खुशी र आशा जगाएको बताए ।

समुहले बजेट विनियोजन गरिदिएकोमा कार्यबाहक मेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई पनि धन्यवाद दिएको छ । संकटग्रस्त सहकारी घोषणा भएपछि धरान राजपत्रको परिच्छेद १८ को धारा ७८ अनुसार व्यवस्थापन समिति गठन र सञ्चालनको लागि लाग्ने खर्च वापत यो आर्थिक बर्षमा उपमहानगरपालिकाले ५ करोड बजेट विनियोजन गरिदिएको पनि संयोजक थापाले बताए ।
उनका अनुसार जिल्ला वा उच्च अदालतको न्यायाधिशको संयोजकत्वमा चार्टड एकाउण्टेनसमेत रहेको व्यवस्थापन समिति गठन हुनेछ । उक्त समितिले सहकारीको ऋण उठाउने, भाडा उठाउने, विविध स्थानमा छरिएर रहेको सम्पत्ति संकलन गर्ने, लिलाम गर्नुपर्ने सम्पत्ति लिलाम गर्ने, हिसाबकिताब छानबिन गर्ने र त्यसपछि संकलित रकम पीडितहरुलाई वितरणको व्यवस्था मिलाउने काम गर्नेछ । धरानमा हालसम्म बराह सहकारी र श्रेया सहकारी संकटग्रस्त घोषणा गरिएको छ ।
भिडियो:







