धरान: किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले विजयपुर दरबार क्षेत्रमा अज्ञात समुहले उखेलेर फालेको मुन्धुमी सामग्री वाबु (चिण्डो) जस्ताको तस्तै राख्न माग गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघालाई ज्ञापन पत्र बुझाएको छ । 

यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हताचो राई, महासचिव भीम राईलगायतको उपस्थितिमा शनिबार कार्यवाहक मेयर बेघालाई ५ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको हो । यायोक्खाले स्थानीय सरकार धरान उपमहानगरपालिकाको मुख्य पहलमा स्थानीय प्रशासन, राजनीतिक तथा सामाजिक संघसंस्थाको उपस्थितिमा चिण्डोलाई जस्ताको तस्तै ठड्याउन माग गरेको हो । 

यसैगरि, यायोक्खाले साम्प्रदायिक सद्भावमा खलल ल्याउने उद्देश्यले मुन्दुमी सामग्री वाबु (चिण्डो) ढाल्ने व्यक्ति जो भए पनि अनुसन्धान गरेर हदैसम्मको कानुनी कारबाही गर्न पनि माग गरेको छ भने विजयपुर दरबारको ऐतिहासिक एवं पुरात्तात्विक अध्ययनको लागि पनि तत्काल पहल गर्न यायोक्खाको माग छ । साथै, साम्प्रदायिक हिंसा फैलन सक्ने अवस्थालाई मध्यनजर गरी समुदायविरुद्ध नकरात्मक भावना फैलाउने कार्य तत्काल बन्द गर्न र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणको लागि पनि स्थानीय सरकार तथा प्रशासनले व्यापकरुपमा सुचना जारी गर्दै नियन्त्रण र नियमनका लागि पहल गर्न यायोक्खाले माग गरेको छ । 

yayokkha3

उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउनुअघि यायोक्खा केन्द्रीय कार्यसमितिका पदाधिकारीसहितको टोलीले वाबु (चिण्डो) उखेलेर फालेको विजयपुर दरबार क्षेत्रको स्थलगत अनुगमन पनि गरेको थियो । त्यसक्रममा पुजाथानमा यायोक्खा केन्द्रीय अध्यक्ष राईले यायोक्खाको झण्डा राखेका थिए । उनले किरात याक्थुङ चुम्लुङको झण्डालाई पनि ढोग्दै भने एकअर्काको सहअस्तित्व स्वीकार गर्ने र सम्मान गर्नुपर्ने बताएका थिए । 

उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएपछि आफ्नो धारणा राख्दै उनले कसैले जितेको र कसैले हारेको जस्तो अवस्थाको अन्त्य गर्न स्थानीय सरकारले चाडो निष्कर्षमा पुर्याउन जोडदिए । उनले यायोक्खाले शुरुवातदेखि नै संयमता अपनाइरहेको भन्दै यसलाई कमजोरी सम्झन नहुने पनि प्रष्ट्याएका थिए । साथै उनले यायोक्खाको झण्डा राखिएको र यसको सुरक्षाको जिम्मेवारी पनि स्थानीय सरकारको भएको बताएका थिए । 

सबैको साझा हो भनेर स्वामित्व ग्रहण गरौं: कार्यवाहक मेयर बेघा

yayokkha begha 1

कार्यवाहक मेयर बेघाले विजयपुर दरबार क्षेत्रको विवादलाई निकास र समाधान दिनुपर्ने पक्षमा स्थानीय सरकार र आफु रहेको बताए । यसको लागि एकले अर्कालाई सम्मान गर्ने, एकले अर्काको इतिहासलाई सम्मान गर्नुपर्ने पनि उनको भनाई थियो । 

उनले किरात याक्थुङ चुम्लुङसँग पनि चाडै छुट्टै छलफल गर्ने रसुरक्षा समिति संयोजक सिडिओ, एसपीसँग पनि समन्वय भइरहेको पनि जानकारी दिए । कार्यवाहक मेयर बेघाले विजयपुर दरबार क्षेत्रको संरक्षण, वृतिविकास गर्न सबै मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताए ।

‘कस्को हो होइन भन्ने प्रश्न इतिहासविद, पुरातत्व विभाग र विज्ञहरुबाट आएको निष्कर्षलाई सम्मान गरौं । को जातिसँग जोडिन्छ, कुन धर्मसँग जोडिन्छ, कुन सँस्कृतिसँग जोडिन्छ, स्वीकारौं,’ बेघाले भने,‘तर त्यो धरानको साझा सम्पत्ति हो, सबैको साझा सम्पत्ति हो भनेर स्वामित्व ग्रहण गर्ने गरि स्वीकारौं । हाम्रो पुर्खाको इतिहाससँग जोडिएको छ, हाम्रो इतिहाससँग जोडिएको छ, त्यो सम्पत्ति सबैले संरक्षण गरेर जाऔं ।’

भिडियो:

भिडियो: