धरान: प्रदेश सरकार गठनमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सहभागी भएको छ ।
नेकपाले चार मन्त्रालय र एक राज्यमन्त्री लिएर कोशी प्रदेश सरकारमा सहभागी भएको हो । नेकपाबाट इलामकी खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएकी छिन् भने सोलुका गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका छन् । यस्तै, मोरङकी गीता तिम्सिना सामाजिक विकास मन्त्री हुँदा र जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् । सपना परियार भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छिन् ।

प्रदेश प्रमुखको कार्यालयमा सोमबार आयोजित समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए भने मुख्यमन्त्री हिक्मत कार्कीले राज्यमन्त्रीलाई शपथ गराएका थिए । एमाले र कांग्रेसबीचको प्रदेश सरकारको सहकार्य टुटेपछि एमाले र नेकपाबीच सहकार्य गर्नेबारे साउन ९ मा तीन बुँदे सहमति भएको थियो । कोशी प्रदेशमा नेकपा सरकारमा सहभागी भएपछि एमालेबाट मन्त्री रहेकाहरुको जिम्मेवारी पनि हेरफेर भएको छ ।
यसअघि आन्तरिक मामिला सम्हालिरहेका इन्द्रमणि पराजुलीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सामाजिक विकास मन्त्री रहेका रामप्रसाद मेहताले उद्योग, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी पाएका छन् । अन्तरिक मामिलामा रहेका उमाकान्त गौतमले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा विदुरकुमार लिङ्थेप छन् भने खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तिलचन पाठकको यथावत रहेको छ ।







