काठमाडौ: सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ । दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई १-० गोलअन्तरले हराउदै मछिन्द्रले ऐतिहासिक उपाधि जितेको हो ।

सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्रको यो पहिलो उपाधि हो । आर्मीको लागि यो दोस्रो स्थान दोस्रो पटक हो । यसअघि २०६३ सालमा पनि आर्मी दोस्रो स्थानमा रहदै लिग अन्त्य गरेको थियो । लिग विजेता मछिन्द्रले कुल ३१ अंक बटुल्दै उपाधि जित्यो भने आर्मीको २९ अंक रह्यो ।

मछिन्द्रको जितमा आर्मीका विकास तामाङको आत्मघाती गोल उपहार भयो । खेलको ३४ औं मिनेटमा मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक रोक्न खोज्दा विकासको हेड आफ्नै गोलपोष्टमा छिरेको थियो । लिगे विजेता मछिन्द्र क्लबले ५० लाख पायो भने दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ३५ लाख रुपैयाँ पायो । तेस्रो भएको मनाङ मस्र्याङ्दी क्लबले २५ लाख, चौथो भएको थ्री स्टार क्लबले १५ लाख, पाँचौ भएको नेपाल पुलिस क्लबले ७ लाख, छैटौ भएको जावलाखेल युथ क्लब ५ लाख पायो ।

यसैगरि, व्यक्तिगतर्फ उत्कृष्ट ५ जनाले १ लाख ५० हजार रुपैयाँ पाएका छन् । उत्कृष्ट गोलकिपर दिप कार्की (मनाङ मस्र्याङ्दी क्लब), उत्कृष्ट डिफेण्डर अनन्त तामाङ (थ्री स्टार क्लब) उत्कृष्ट मिडफिल्डर विशाल राई ‘बी’ )मछिन्द्र क्लब), उत्कृष्ट फरवार्डभरत खवास (त्रिभुवन आर्मी क्लब) र उत्कृष्ट प्रशिक्षक प्रवेश कटवाल (मछिन्द्र क्लब) घोषित भए । फेयर प्ले टीमको पुरस्कार थ्री स्टार क्लबले १ लाख ५० हजार रुपैयाँ पायो ।