धरान: प्रदेश नं १ मा दक्ष फुटबल रेफ्री उत्पादन गर्ने लक्ष्य लिएर सोमबारदेखि धरानमा रेफ्री प्रशिक्षण शुरु भएको छ ।

एन्फा प्रदेश नं १ तदर्थ समितिको आयोजनामा धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा प्रशिक्षण शुरु भएको हो । एन्फा केन्द्रीय सदस्य तथा प्रवक्ता किरण राईले एक समारोहबीच प्रशिक्षणको उद्घाटन गरेका थिए । सात दिने प्रशिक्षण फागुन ११ गतेसम्म आयोजना हुनेछ । प्रशिक्षणमा ओखलढुंगा जिल्लाबाहेक प्रदेश नं १ को १३ जिल्लाबाट कुल ५४ जना सहभागीहरु आएका छन् । ती मध्ये महिला ५ जना मात्र छन् ।

प्रमुख अतिथि एवं एन्फा प्रवक्ता राईले रेफ्री प्रशिक्षार्थीहरुलाई एन्फा मातहतको प्रदेश र जिल्ला संघबाट अनुमति लिएको प्रतियोगिताहरुमा मात्र रेफ्री गर्न जान निर्देशन पनि दिए । ‘तपाईहरु पनि अनुशासनमा रहनुपर्छ । प्रशिक्षण लिएपछि भविष्यमा एन्फा रेफ्री हुने मात्र होइन, फिफा रेफ्री भएर अन्र्तराष्ट्रिय खेल खेलाउने लक्ष्य राख्नुपर्छ,’उनले भने,‘प्रदेश वा जिल्ला संघबाट अनुमति नलिएको प्रतियोगिताहरुमा रेफ्री हुन नजानुस् । कुनै पनि घटना भइहालेमा त्यसको नैतिक जिम्मेवारी एन्फाले लिनुपर्ने हन्छ ।’ उनले फुटबलको भद्रगोल अवस्थालाई व्यवस्थित गर्न एन्फा लागिपरेको पनि बताए ।

refree1

एन्फा प्रदेश तदर्थ समिति अध्यक्ष राईले समिति हालै मात्र गठन भएको जानकारी दिदै आगामी बर्ष महिला सहभागिता बढाएर ३३ प्रतिशत पुर्याइने बताए । उनले २०७७ सालदेखि ६ महिनासम्म तीन तहको लिग खेल्ने व्यवस्था गर्न पनि एन्फाले पहल गरिरहेको बताए । ‘एक जिल्ला एक रंगशाला, एक जिल्ला एक एकेडेमी हुनुपर्छ । हामीले तीन तहकै सरकारसँग लविङ गर्दैछौं,’उनले भने ।

प्रशिक्षार्थीहरुलाई फिफा रेफ्री किरण गिरी, सुरेन्द्र सिखाकार, सुदेश पाण्डे, मदुसुधन खनाल र एन्फा रेफ्री वलिदान राईले प्रशिक्षण दिनेछन् । प्रशिक्षक गिरीले रेफ्री हुन आत्मविश्वास र फिटनेस हुनुपर्ने बताए । रेफ्री जस पाउने क्षेत्र नभएकोले निर्णय लिदा धेरै सोचविचार गरेर मात्र लिनुपर्ने पनि धारणा राखे । उद्घाटन समारोहमा एन्फा केन्द्रीय सदस्य दिपक राई, पुर्व मानार्थ उपाध्यक्ष सन्तोष बाँनियाले पनि मन्तव्य राखेका थिए ।

refree-tranning