धरान: धरान १२ स्थित पब्लिक माविको ७३ औं बार्षिकोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत बुधबार मिनि म्याराथुन सम्पन्न भएको छ ।

चतरालाइनस्थित स्कुलको मुल प्रवेशगेट अघिबाट शुरु भएको म्याराथनमा छात्र र छात्राको छुट्टा छुट्टै स्पर्धा भएको थियो ।म्याराथनमा छात्रतर्फ कक्षा १२ का मनकुमार राई प्रथम भए भने कक्षा ११ का बिमान लिम्बु दोस्रो र कक्षा ११ कै अनिल तामाङ्ग तेस्रो भए । यस्तै, छात्रातर्फ कक्षा ११ की सुजाता राई प्रथम, गंगा लिम्बु दोस्रो र कक्षा १२ की सुस्मिता राई तेस्रो भइन् । विजेताहरु छात्र, छात्रा दुवैतर्फ प्रथम, दोस्रो र तेस्रो हुने क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार पुरस्कार पाउने विद्यालयका प्रअ इन्द्रमोहन झाले जानकारी दिए ।

marathon1

प्रअ झाका अनुसार मिनि म्याराथनमा कुल ११९ विद्यार्थीहरुले सहभागिता जनाएका थिए । ती मध्ये ७४ जना छात्र र ४५ जना छात्रा थिए । विद्यालयले फागुन १ गतेदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरी बार्षिकोत्सव मनाइरहेको छ । यसअघि रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत पनि संकलन भएको थियो । बार्षिकोत्सव कार्यक्रम बिहिबार औपचारिक कार्यक्रम आयोजना गरि समापन हुनेछ ।

यो विद्यालय २००३ सालमा स्थापना भएको हो । यो विद्यालय यो बर्ष जिल्लाकै नमुना विद्यालयकोरुपमा छनौट भएको छ । बिहिबार वार्षिक उत्सवको समापन समारोहमा प्रगति प्रतिवेदन प्रस्तुत, छात्रवृत्ति प्रदान र पुरस्कार वितरण कार्यक्रम पनि हुनेछ । यस्तै, विद्यार्थीहरुबाट तयार गरिएको खाद्य परिकार, साईन्स तथा ईलेक्ट्री प्रर्दशनी समेत राखिएको छ ।