काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा स्वीस कम्पनीका एजेण्टसँग कमिशन डिल गरेको सार्वजनिक भएपछि नेपाली राजनीतिमा तरंग छाएको छ ।

यो अडियो प्रकरणले मन्त्री बास्कोटाको पद र राजनीतिक जीवन मात्र धरापमा पारेको छैन, उच्च तहमा हुने कमिशनको खेलको पर्दा पनि उघारिदिएको छ । भ्रष्टचारमा शुन्य सहनसिलता अपनाउने उद्घोष गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका सरकार एक प्रमुख सारथी नै कमिशनको खेलमा लागेको उजागर भयो । अहिले प्रमुख प्रतिपक्षी दल कांग्रेसले बास्कोटालाई बर्खास्त गर्न माग गरिसकेको छ भने उनलाई प्रधानमन्त्रीले आजै बर्खास्त गर्ने वा राजिनामा दिन लगाउने चर्चा भइरहेको छ ।

नेपाली कांग्रेसले बास्कोटालाई बर्खास्तको माग गर्दै आज राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बैठक सुरु हुनासाथ कांग्रेसका सांसद जीतेन्द्र देवले बास्कोटालाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरेका थिए भने अडियो प्रकरणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान पनि राखेका थिए ।

आज विभिन्न अनलाइन मिडियामार्फत मन्त्री बास्कोटा र स्वीस कम्पनीको नेपाल एजेन्ट विजय प्रकाश मिश्रबीच कमिसनको लागि डिल भइरहेको अडियो सार्वजनिक भएको थियो । काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्वीस कम्पनीले ठेक्का लिने प्रयास गरेको थियो । त्यसक्रममा मन्त्री बास्कोटा र मिश्रबीच भएको संवाद मिश्रले नै रेकर्ड गरेको अनुमान छ । अहिले उक्त प्रेसको ठेक्का स्वीस कम्पनीलाई नदिएर जर्मन कम्पनीलाई दिन लागिए पछि मिश्रले नै अडियो क्लिप अनलाइन मिडियाहरुमार्फत सार्वजनिक गरिदिएका हुन् ।

स्वीस कम्पनीले प्रेस स्थापना गर्नका लागि २ सय मिलियन अर्थात करिब २६ अर्ब रुपैयाँ प्रस्ताव गरी लगानी बोर्डलाई पत्र पठाएको थियो । स्वीस कम्पनीले बिल्डिङसहित करिब २८ अर्बमा बनाइदिने भनेको प्रेस कमिशनको कुरा नमिलेपछि विभिन्न वहाना बनाएर अर्को कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको बताइएको छ । अनलाइन मिडियाहरुसँग कुरा गर्दै स्वीस कम्पनीका एजेण्ट मिश्रले नियम संगत तरिकाबाट आउने कुल ७४ करोड कमिशनको ७० प्रतिशत मन्त्री बाँस्कोटा र ३० प्रतिशत आफूहरुले पाउने गरी काम गर्न लागिएको बताएका छन् ।

प्रेस खरिद प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

यसैगरि, संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियालाई अघि नबढाउन निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले अर्को बैठकले निर्णय नगरेसम्म खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको हो । खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भन्दै प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको समितिले जनाएको छ । साथै, सार्वजनिक भएको अडियोका बारे पनि समिलिते छानबिन गर्ने भएको छ ।

आरोप पुष्टि भए कारबाही भोग्न तयार छुः मन्त्री बास्कोटा

कमिसनको लागि डिल गरेको अडियो सार्वजनिक भएपछि सवत्र्र आलोचनाको पात्र बनेका मन्त्री बास्कोटाले आरोप पुष्टि भए कारबाही भोग्न तयार भएको प्रतिक्रिया दिएका छन् । कञ्नपुरको पुनर्वास नगरपालिकामा रहेका मन्त्री बास्कोटाले कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै आरोप हल्ला मात्र भएकोले चिन्ता नलिने पनि बतए ।
उनले कहिले १२ अर्ब, कहिले ५ अर्बको हल्ला हुने गरेको उल्लेख गर्दै अहिले त्यो हल्ला करोडमा झरेको बताए । ‘मैले सुको सात आना पनि खाएको छैन । खाएको देखिए कारबाही भोग्न तयार छुँ,’मन्त्री बाँस्कोटाले भने ।