धरान: सुनसरी, मोरङका पत्रकारहरुलाई एक दिने खेलकुद पत्रकारिता तालिम दिइएको छ ।

धरान फुटबल क्लबको आयोजना तथा नेपाल पत्रकार महासंघ सुनसरीको संयोजनमा एक दिने खेलकुद पत्रकारिता तालिम भएको हो । बुढासुब्बा टुबोर्ग गोल्डकपको २२ औं पुर्वसन्ध्यामा पत्रकारहरुलाई खेलकुद समाचार लेखनको तालिम दिइएको हो । धरान १३ स्थित पत्रकार महासंघको हलमा आयोजित तालिमको उद्घाटन अखिल नेपाल फुटबल संघ(एन्फा)का प्रदेश १ अध्यक्ष किसोर राईले गरेका थिए । तालिममा तीन दर्जन बढी पत्रकारहरु सहभागी थिए ।

तालिममा फिफा रेफ्री सुदेश पाण्डे, पत्रकारद्धय प्रकाश तिमल्सिना र पवन आचार्यले सहजीकरण गरेका थिए । उनीहरुले फुटबलको समाचार लेख्दा ध्यान दिनुपर्ने पक्ष, प्राविधिक पक्षलगायत बिषयमा प्रशिक्षण दिएका थिए । तालिमको उद्घाटन गर्दै एन्फा प्रदेश अध्यक्ष राईले खेलकुदमा भविष्य छ भन्ने वातावरण तयार गर्ने जिम्मेवारी तीनै तहको सरकारको भएको बताए । खेलकुदलाई व्यवसायिक बनाउनुपर्ने धारणा राख्दै उनले खेलकुदमा व्यवसायिकताको नीति ल्याउनुपर्ने पनि बताए ।