नयाँदिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमण छन् । विश्वकै शक्तिराष्ट्रका प्रमुख आफ्नो देशमा आतिथ्य ग्रहण गरिरहेकै बेला भारतको राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिजो सोमबार हिंसात्मक प्रदर्शन भयो ।

उक्त प्रदर्शनको क्रममा भिडन्त हुँदा कम्तीमा चार जनाको ज्यान गएको बिबिसि हिन्दीले जनाएको छ । नागरिकता ऐनको विरोध र पक्षमा दिल्लीको मौजपुर र आसपासका क्षेत्रमा जारी प्रदर्शनले सोमबार उग्र हिंसात्मक रुप लिएको थियो । उक्त हिंसामा एक जना प्रहरी हवल्दारको पनि मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति भारत भ्रमणका क्रममा दिल्लीमा रहेका बेला भएको हिंसात्मक प्रदर्शनप्रति राजनीतिक दलका नेताहरुले खेद प्रकट गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले विज्ञप्तिमार्फत दिल्लीवासीलाई साम्प्रदायिक सद्भाव कायम राख्न र धर्मका आधारमा भारतलाई विभाजित गर्न चाहने तत्वहरुको गलत नियतलाई परास्त गर्न आग्रह गरेकी छिन् । सरकारी पक्षले भने सोमबार भएका हिंसात्मक घटनाहरु राष्ट्रपति ट्रम्पको भ्रमणलाई लक्षित गर्दै सुनियोजित ढंगले गरिएको आरोप लगाएको छ । सोमबार गुजरातको अहमदाबाद ओर्लेर दिल्ली आइपुगेका ट्रम्प मंगलबार साँझ स्वदेश फिर्ने कार्यक्रम छ ।

delhireuters

नागरिकता ऐनको विरोध र समर्थनमा दुई दिनदेखि मौजपुर क्षेत्रमा जारी प्रदर्शन सोमबार भने बिहानैदेखि दुवै पक्षमा ढुंगा हानाहान भएको थियो । प्रदर्शनले उग्ररुप लिदै गएपछि मेट्रोका आधा दर्जन स्टेशनहरु बन्द गरिएको थियो । हिसांत्मक भीडले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरुमा आगजानी गरेको थियो ।प्रदर्शनकारीहरुले दिल्लीको गोकुलपुरीस्थित पुरानो टायर बजारमा आगजनी गरेका थियो । उग्र भीडले पेट्रोल बम समेत प्रहार गरेका थियो ।

रणभूमिका परिणत भएको उक्त क्षेत्रमा ११ जना प्रहरी र ५० भन्दा बढी सर्वसाधारण घाइते भएको बताइएको छ । घाइते प्रहरीमध्ये एक जना डीसीपीसमेत रहेका छन् । प्रदर्शनकै क्रममा ढुंगा लागेर घाइते प्रहरी हवल्दार रतनलालको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको गोली र प्रदर्शनकारीको आक्रमणमा अन्य चार जना सर्वसाधारणको ज्यान गएको बताइएको छ । प्रहरीले दिनभरी जसो स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस र लाठी प्रहार गरेको थियो । राति अबेरसम्म पनि स्थिति नियन्त्रणमा नआएपछि अर्धसैनिक बललाई परिचालित गरिएको थियो ।

delhi2

नागरिकता ऐनको विरोधमा आन्दोलन गरिरहेको पक्षले सोमबारको हिंसात्मक प्रदर्शनका पछाडि भारतीय जनता पार्टी (भाजपा)का स्थानीय कपिल मिश्रले सोमबार दिएको भडकाउपूर्ण अभिव्यक्तिलाई जिम्मेवार ठानेका छन् । शनिबार राति करिब ५ सय महिलाहरुले जाफराबाद मेट्रो स्टेसनमा भेला भएर शान्तिपूर्ण प्रदर्शन गरेका थिए । यसअघि दिल्लीकै शाहिनबागमा संशोधित नागरिक ऐन र राष्ट्रिय नागरिक पन्जीकरण (एनआरसी)को विरोधमा स्थानीयले करिब दुई महिनासम्म धर्ना तथा प्रदर्शन गरेका थिए ।

मिश्रले सोमबार सार्वजनिक रुपमै विगत दिल्लीको जाफराबाद र चाँदबाग क्षेत्रमा जारी संशोधित नागरिकता ऐनका विरुद्ध भइरहेको प्रदर्शन तीन दिनभित्र अन्त्य गराएर सडक खुला गराउन दिल्ली प्रहरीलाई अल्टिमेटम दिएका थिए । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किन अब तीन दिन बाँकी छ, त्यसपछि हामीहरुलाई न सम्झाउनुहोला त्यसपछि हामीहरु केही सुन्नेछैनौं,’ उनले आइतबार सार्वजनिक रुपमै भनेका थिए । मिश्रको उक्त अभिव्यक्तिले साम्प्रदायिक सद्भावलाई खलल पुर्याउन खोजेको भन्दै त्यसको सबै पक्षबाट आलोचना गरिएको थियो । नभन्दै त्यसको भोलिपल्ट सोमबार बिहानैदेखि नै दिल्लीका मौजपुर, कर्दामपुरी, चाँदबाघ र दयालपुर क्षेत्रको स्थिति तनावपूर्ण थियो ।