धरान:  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफुमाथि २०७२ सालदेखि पार्टी भित्रैका केही व्यक्तिबाट षडयन्त्र भइरहेको बताएका छन् । उनले आफ्नो राजनीतिक जीवन र चरित्र हत्या गर्न केही मिडियाहरु पनि दुरुपयोग भएको दाबी गरे ।

आज इटहरीमा प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले आफ्नो बारेमा पछिल्लो समय आएका समाचारबारे यस्तो टिप्पणी गरेका हुन् । उनले बालिका खड्का नामकी एक महिलासँग आफुलाई जोडेर विभिन्न अनलाइनहरुमा आएको समाचारबारे पहिलो पटक सार्वजनिक अभिव्यक्त पनि दिएका हुन् । यसअघि पनि ती महिलासँग मुख्यमन्त्री राईलाई जोडेर समाचारहरु पटक पटक प्रकाशित भएको थियो । तर, उनले त्यसबारेमा बोलेका थिएनन् ।

पत्रकारहरुको कार्यक्रममा पहिलो पटक यो बिषयमा बोल्दै मुख्यमन्त्री राईले भने,‘यो फोरममा मैले केही बोलिन भने म अन्यायमा पर्ने महसुस गरेको छुँ । मैले बोल्ने बेला बल्ल आयो । म विरुद्ध २०७२ सालदेखि षडयन्त्र शुरु भएको छ । म सञ्चारमन्त्री भएको २, ३ महिनादेखि त्यो षडयन्त्र शुरु भयो ।’ उनले आफुविरुद्ध विभिन्न ठाउँ बैठकहरु बसेर एउटा गिरोह सक्रिय भएको बताए । ती गिरोहले नै केही पात्रहरुको खोजेर, खरीद गरेर आफुमाथि प्रयोग गरेको पनि उनले दाबी गरे ।

‘हिजो मात्र एउटा अदालतमा मुद्दा दर्ता भयो भनेर सामाजिक सञ्जालमा आइराखेको छ। २०७२ सालदेखि लगातार लगातार मौषम अनुसार सामाजिक सञ्जाल र केही साना मसिना अनलाइनहरुमा केही कुराहरु मेरो प्रसंगमा आइराखेको सर्वविदितै छ,’ ती महिलाको नाम नलिइकनै उनले भने,‘आजसम्म यो प्रसंगमा मैले बोलेको छैन, किनभने मेरो कुनै दोष छैन, कमजोरी छैन ।’
आज बोल्नुपर्ने अवस्था आएको भन्दै मुख्यमन्त्री राईले चाडै दुधको दुध पानीको पानी छुटिने दाबी गरेका छन् । ‘तपाईहरु भ्रममा नपर्नुस्, कतै चुकेको थियो कि, गल्ती गरेको थियो कि भनेर,’मुख्यमन्त्री राईले भने,मिडियाहरु दुरुपयोग भएका छन्, मिडियाहरु किनिएका छन् । आधि घण्टामा पात्रहरु, यो खेतीमा लाग्नेहरु तपाईहरुले पत्ता लगाउन सक्नुहुन्छ ।’ उनले आफुविरुद्ध करोडौं रुपैया खर्चिएको पनि दाबी गरेका छन् ।

उनले ती महिलासँग कहिल्यै चिनजान र दोहोरो संवाद पनि नभएको बताउदै आपु संचारमन्त्री भएको ३ महिना पछि मोवाइलमा म्यासेजहरु आउन थालेको  बताए । सयांैको संख्यामा म्यासेज आएको उल्लेख गर्दै उनले भने,‘फटाफट मेरो नम्बरमा म्यासेज आउछ, त्यो म्यासेज दुईटा, तिनटा होइन सयौंको संख्यामा आउछ । भोलीपल्ट पनि आउछ, म त्यो म्यासेज प्राप्त भएको नम्बरमा कलब्याक गर्छु, र को मान्छे हो चिन्न खोजछु । नामसम्म थाह हुन्छ । त्यसपछि फोन राख्छुँ । तर म्यासेज लगातार आयो ।’ त्यसरी निरन्तर आएको म्यासेजहरुलाई जस्ताको तस्तै मोवाइलमा राखेर सञ्चारमन्त्री, सरकारको प्रवक्ताको हैसियतामा प्रधानमन्त्रलाई देखाएको पनि उनले बताए । प्रधानमन्त्री पनि अचम्मित भएर षडयन्त्र भएको थाह पाएपछि 'अब तपाई ढुक्कले केही विचलित नभै काममा अघि बढ्नुस्, कसैलाई प्रतिक्रिया नदिनुस्' भनेर ढाडस दिएको पनि मुख्यमन्त्री राईले बताए ।

निरन्तर म्यासेज आउन नछोडेपछि सरकारबाट हामी बाहिरिएपछि गिरोहको नाइकेको नाम किटान गरेर पार्टीमा एउटा एजेण्डा पोलिटब्युरो बैठकमा दर्ज गरेर छलफल भएको पनि उनले खुलाए । ‘पार्टी अध्यक्षसँग औपचारिक अनुमतिमा २ घण्टा छलफल भयो । बैठकमा एक मतले ती पात्र गलत हुन् भन्ने निष्कर्ष निस्कियो,’उनले भने,‘मैले ६ वटा नम्बर र ७ पेज म्यासेज सहित सिआइबीमा निवेदन दिए । पुलिसले आवश्यक अध्ययन गर्यो, र यी मान्छे स्वाभाविक मनस्थितिमा छैन, त्यसो हुदा अहिले कारबाही अगाडि नबढाऔ भनेर त्यसबेलाको डिआइजी अहिले प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, नवराज सिलवालले भन्नु भएको थियो । मैले यो बिषयमा आजको मितिसम्म कही कतै प्रतिक्रिया दिएको थिइन, तर लगातार यसप्रकारको षडयन्त्र किन हो थाह छैन ।’