धरान: ८ मार्च अर्थात अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको दिन अखिल नेपाल महिला संघ(अनेम)ले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । तर, यसबर्ष कोरोना भाइरस(कोभिड १९)को कारण मार्च ८ मा आयोजना हुने ११० औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम धरानमा स्थगित भयो ।

कोरोनाको कारण कार्यक्रम गर्न नपाएको संघ चुप लागेर भने बसेन । अनेम संघ वडा नं ७ ले वडा कार्यालयसँग सहकार्य गरेर बुधबारदेखि कोरोना भाइरसबारे सचेतना अभियान धरानमा शुरु गरेको छ । संघले वडा नं ७ मा कोरोना भाइरसबाट जोगिने तरिकाहरुबारे पर्चा बाँड्दै आममानिसहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । कोरोना भाइरसबाट आफु पनि बचौं, अरुलाई पनि बचाऔं भन्ने आह्वानसहितको ब्यानर बोकेर महिलाहरु सचेतना अभियानमा निस्किएका हुन् । यो अभियानको शुरुवात धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले पर्चा वाचन गरेर शुरुवात गरेकी थिइन् ।

महिला नेतृ वेणु काफ्लेले सरकारको आग्रह अनुसार संघको स्थापना दिवसको कार्यक्रम स्थगित गरेर सानो समुहमा कोरोनाकै बारेमा आम मानिसहरुलाई सचेत गराउने अभियान थालिएको बताइन् । उनका अनुसार २ वटा टोली बनाएर सचेतना अभियान थालिएको छ । अभियानमा वडा नं ७ का अध्यक्ष जीवन सुवेदी पनि सहभागी रहेका थिए । 'अहिले सानो समुहले वडा ७ मा शुरुवात भएको छ, वडा ७ को सबै टोल, वस्तीमा पुग्छौं,'उनले भनिन्,'विस्तारै अरु वडाहरुमा पनि अभियान शुरुवात हुन्छ भन्ने अपेक्षा लिएका छौं ।'

 anema-sangh'