धरान: टेकुबाट भागेर धरान आएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत व्यक्तिमा कोरोनाको कुनै लक्षण पनि नदेखिएको पाइएको छ ।

चिकित्सकहरुका अनुसार टेकुबाट भागेर पुनः प्रतिष्ठानमा उपचारको लागि आइसके पछि शंका निवारणकै लागि नमुना जाँचको लागि टेकु अस्पतालमा पठाइएको छ । ती व्यक्तिलाई कोरोना भए नभएको पुष्टि गर्न थ्रोट स्वाब जाँचको लागि पठाइएको प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा कोरोना सम्बन्धी कुनै लक्षण देखा परेको छैन । ‘उहाँमा कोरोना सम्बन्धी कुनै लक्षण केही पनि देखिएको छैन । शुरुमा स्क्रिनिङ गर्दा पनि प्रारम्भिक लक्षणहरु ज्वरो आउनेलगायत केही पनि छैन । उहाँको गतिविधिले गर्दा मानिसहरु त्रसित भएको अवस्था छ,’उनले भने,‘उहाँलाई विरामी नै भनिहाल्नु पर्ने जरुरी छैन । शंका लागेको मात्र हो, शंका त जसलाई पनि लाग्नसक्छ ।’

 Ashok-Air

वीपी प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐर ।

धरान १० घर भएका ती व्यक्ति बिहिबार टेक अस्पतालबाट भागेर विराटनगर एयरपोर्ट हुदै धरान आएका थिए । आफन्तजनले उनलाई प्रतिष्ठानमा उपचारको लागि लगेका थिए । तर, उनी राती पुनः प्रतिष्ठानको आइसोलेसन वार्डबाट पनि जर्बजस्ती भागेर गएका थिए । प्रहरीले पुनः उनलाई फेला पारेर ल्याएका थिए । उनी ३१ महिना कोरिया बसेर २० गते नेपाल आएका थिए भने २१ गते आफै टेकु अस्पतालमा गएका थिए । 

प्रतिष्ठानले उनलाई विरामी भइसकेर आइसोलेसनमा राखेको नभै रिपोर्ट नआउञ्जेलको लागि मात्र राखिएको प्रष्ट पारेको छ । ‘आइसोलेसनको लागि मात्र राखेको हो । विरामी भइसकेर आइसोलेसनमा राखेको होइन । रिपोर्टमा नेगेटिभ आयो भने घर गइहाल्नुहुन्छ, पोजेटिभ आयो भने थप उपचार हुन्छ,’सहप्रवक्ता डा.ऐरले उपचार नपाएको भन्ने आफन्तको गुनासोप्रति भने,‘उपचार नगरेको होइन, कुनै विराम नै छैन । के उपचार गर्ने हो ? उहाँलाई अहिलेको लागि अरुबाट छुट्याएर राख्ने मात्र हो । विरामी भए पो उपचार गर्ने ? जाँचको लागि पठाइएको छ, त्यसको रिपोर्ट आएपछि थाह हुन्छ ।’

 ती व्यक्तिमा कोरोना भन्दा पनि अन्य डिप्रेसनलगायत समस्या भए सम्बन्धित विभागका बिशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने पनि सहप्रवक्ता ऐरले जनाएका छन् । ‘वीपीमा कोरोनाको टिम नै छ, अरु समस्या, शंकाहरुबारे पनि विभिन्न विभागको डाक्टरहरुबाट पनि परामर्श भइरहेको छ,’उनले भने,‘उनको अवस्था हेर्दा डरले अस्थिर स्वभाव, व्यवहार देखा परेको छ । भुकम्पको बेला मानिसहरुलाई भएको डरजस्तै देखा परेको हुनसक्छ ।’ ती व्यक्तिमा डर, त्रास तथा मानसिक समस्या केही भएको हो कि भनेर मानसिक रोग बिशेषज्ञहरुबाट परामर्श भइरहेको छ ।

आफन्तजन भन्छन्,‘डिप्रेसनको विरामी हो, डाक्टरहरुले समयमै परामर्श गरिएन’

corona-bpkihs

टेकुबाट भागेर घर आएका व्यक्तिका आफन्त ।

विरामीका आफन्तहरुले पनि कोरोना नभएर डिप्रेसनको शिकार भएको बताएका छन् । उनी कोरिया जानुअघिदेखि नै डिप्रेसनको विरामी भएको उनका नजिकका आफन्तहरुको भनाई छ । खास गरी आमाको निधन भएपछि उनको मानसिक अवस्थामा असर पुगेको र सानोतिनो कुराहरुमा पनि असामान्य व्यवहार देखाउने गरेको आफन्तहरुले बताएका छन् ।
जेठानी दिदीले कोरियाबाट काठमाण्डौं फर्केपछि घाँटीमा केही समस्या आएपछि टेकुमा उपचार गराउन गएको र आइसोलेसनमा राखेपछि थप मानसिक त्रासमा परेर भागेर घर आएको बताइन् । ‘मानसिकरुपमा पहिलादेखि नै समस्या थियो, सानो कुरामा पनि अनेक शंका गर्नुहुन्थ्यो,’उनले भनिन्,‘३ बजे इर्मजेन्सीमा भर्ना भएको थियो । यहाँ आइसोलेसनमा सारिदिएछ, तर डाक्टरहरुले आएर हेरिनै दिएनन्, काउसेलिङ गरिएन । हामी दिनभरि सँगै थियौं, त्यस्तो हो भने हामीलाई किन सँगै बस्न दिइयो ।’

उनका जेठानले आमाको मृत्यु पछि मानसिक असर पर्दै गएको र डिप्रेसन भएको बताए । दक्षिण कोरियामा पनि कोरोना देखिएपछि उनको मानसपटलमा असर पुगेर घर फर्केको बताए । हिजो बिहिबार राम्रो परामर्श नगरेको भन्दै असन्तुष्टी व्यक्त गरेका उनले आज भने मानसिक विभागका डाक्टरले राम्रो परामर्श पाएको बताए ।