धरान: धरान १८ को प्रमुख चोककोरुपमा रहेको बुद्धचोकमा चिण्डो(वाबु)को प्रतिमा बनाउन मेयर तिलक राईले शिलान्यस गरेकोप्रति धरानका विभिन्न गुम्बाहरुले ध्यानाकर्षण भएको जनाएको छ ।

धरानका ८ गुम्बाहरुले आज(शुक्रबार) संयुक्तरुपमा मेयर राईलाई कार्यकक्षमा भेटेर ज्ञापन पत्र बुझाउदै बुद्धको प्रतिमा निर्माण गर्ने आफुुहरुको प्रयासलाई उपेक्षा हुने गरी चिण्डो निर्माण शुरु भएको भन्दै तत्काल रोक्न पनि माग गरेका छन् । उनीहरुले बुद्ध चोकको नाम तत्कालिन घोपा पञ्चायतको पालादेखि नै भएको ऐतिहासिक तथ्य रहेको र उक्त स्थानमा बुद्धको प्रतिमा स्थापना गर्ने प्रयास पनि भइरहेको प्रष्ट्याएका छन् । केही दिनअघि धरान १८ स्थित बुद्ध चोकमा मेयर राईले वाबु(चिण्डो)को प्रतिमा निर्माण गर्न शिलान्यसा गरेका थिए । चिण्डो(वाबु) किरातीहरुको महत्वपुर्ण साँस्कृतिक सामग्री हो । बिशेष गरि राई जातिहरुले जन्मदेखि मृत्युसम्म चिण्डो प्रयोग गर्छन् ।

शुकवार धरान १५ स्थित ङाग्युर ङिङ्मा ङ्युङ्ने ल्हागाङ गुम्बा, नेपाल बौद्ध गुम्बा धरान १८, स्वयम्भू चैत्य महाबिहार धरान धरान १२, उर्गेन छोलिङ गुम्बा धरान ५, हिमालयन महायान रिन्छेन छोलिङ गुम्बा धरान ८, हिमालयन महायान देछेन छोलिङ गुम्बा धरान १८, क्षाबेनाङ्ज्यो शिङ्सा छोलिङ गुम्बा धरान १५ र ङाग्युर ङिङ्मा टासी च्जोलिङ गुम्बा धरान २० का प्रतिनिधिले संयुक्तरुपमा मेयर राईलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

budha-chowk

 

ज्ञापन पत्रमा छुट्टै ऐतिहासिक तथा धार्मिक महत्व भएको स्थानमा सो किसिमको कार्यले धार्मिक सहिष्णुतालाई पनि खलल पार्ने तथा संविधानले प्रदत्त गरेको धार्मिक स्वतन्त्रताको हक र समानताको हकले निर्दिष्ट गरेको अधिकारलाई कुन्ठित पार्ने ती संस्थाहरुले ठहर गरेको पनि उल्लेख छ । ‘तसर्थ, उक्त स्थानमा वाबुको प्रतिमा निर्माण हुने सो कार्यलाई अबिलम्ब रोकी बुद्ध चोकको नाम अनुसारको शान्तिका अग्रदुत भगवान बुद्धको प्रतिमा स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ,’विज्ञप्तीमा भनिएको छ ।

मेयर तिलक राईले ज्ञापन पत्र बुझ्दै वाबु(चिण्डो) स्थापना हुदैमा बुद्ध चोकको नाम नमेटिने जिकिर गरेका थिए । उनले श्याम चोकमा मनमोहनको शालिक स्थापना गरेको उदाहरण दिदै भने,‘त्यहाँ श्याम चोक नाम मेटिएर मनमोहन चोक भएको छैन ।’ उनले वाबु निर्माण गर्ने बजेट धरान उपमहानगरको बजेटबाट नभएको पनि बताए । उनका अनुसार बुद्धचोकमा चिण्डो बनाउने निर्णय बिगत पाँच वर्ष अघि वडा नम्बर १८ का बासिन्दाले गरेको उनको भनाई थियो । मेयर राईले बुद्धचोक नामकरणको प्रसंग पनि झिकेर अझै पनि छलफल गर्न सकिने बतए । ‘बुद्ध चोक नाम नमेटिन कस्तो खालको काम गर्दा राम्रो हुन्छ सुझाब दिन आग्रह गर्छु,’उनले भने ।