धरान: धरान १६ स्थित सियोन स्कुलले छात्रा माथि यौन दुव्र्यवहारबारे विभिन्न मिडियाहरुमा आएको समाचारको खण्डन गरेको छ । तर, आरोप लागेका शिक्षकमाथि यसअघि पनि यौन दुव्र्यवहार भएको आरोप लागेको स्वीकार गर्दै आवश्यक कारबाही गर्ने पनि प्रष्ट पारेको छ ।

आज आइतबार नेपाल पत्रकार महासंघ सुनसरीको हलमा पत्रकार सम्मेलन गर्दै स्कुलका निर्देशक खड्ग बहादुर थापा मगरले यौन दुव्र्यवहार हुदै नभएको दाबी गरे । कपोेकल्पित समाचार आएको दाबी गरेपनि उनले यसअघि पनि तिनै शिक्षकमाथि यही प्रकृतिको आरोप लागेको भने स्वीकार गरे । आरोपित शिक्षक निर्देशक खड्काको भाई हुन् । आफ्नो भाई अनुशासनमा कडा भएकोले कक्षा १० का विद्यार्थीहरुले इस्यु बनाएको उनको दाबी थियो । ‘क्लास टेनका नानीहरुले इस्यु बनाएको हो । मेरो भाई कडा छ । प्रिन्सिपल सरले सोध्नु भयो, होइन भन्यो । भोलीपल्ट फेरि हो भन्छ,’निर्देशक थापाले भने,‘पछि घरमा आमा बुबासँग सेयर गरेको छैन । बुबा आफै आउनु भयो,बुझ्दा यो कुरा सत्य होइन भन्ने भयो ।’

sion-schoool1

त्यसबेला यो आरोप लागेपछि स्कुलले निष्कासन गरेको थियो । तर, ती शिक्षकलाई आरोप पुष्टि हुन नसकेपछि पुर्नवहाली गरिएको निर्देशक थापाको भनाई थियो । यद्यपी, एउटै शिक्षकमाथि पटक पटक छात्रामाथि दुव्र्यवहारको आरोप लागेकोले स्कुलले उनलाई निष्कासन गर्नेबारे ठोस निर्णय गर्ने पनि बताए । ‘विद्यार्थीहरुको शिक्षा, सुरक्षामा हामी संवेदनशिल छौं, घटना त्यस्तो भएको होइन । तर एउटै शिक्षकमाथि यस्तो कुरा आएकोले हामी उहाँलाई निर्णय गछौं, अहिल्यै निकाल्दा भगायो भन्ने आरोप आउला, केही समयमा गछौं,’उनले भने ।

स्कुलका डिसिप्लिन इञ्चार्ज प्रकाश तामाङले बच्चाहरुलाई बिहानैदेखि साँझसम्म पनि शिक्षक, शिक्षिकाहरुले ध्यान दिने गरेकोले समाचारमा आएजस्तो घटना हुदै नभएको दाबी गरे । उनले कसैले त्यस्तो घटना भएको प्रमाणित भएमा तत्काल कारबाही गरेर निष्काशन गर्ने पनि जिकिर गरे । ‘प्रमाण विना कारबाही गर्न सकिदैन, के भएको हो होइन भनेर हामीलाई आएर सोधे भइहाल्थ्यो । समाचारमा अनेक कुरा आए,’उनले भने,‘अभिभावक र विद्यार्थीले पनि प्रमाणित गर्न सकेको छैन । प्रमाण भयो भने मै घाँटी समात्छुँ ।’

समाचार लेखेर १८ लाख विज्ञापनको बार्गेनिङ भयो

 सियोनका निर्देशक थापाले विगतमा पनि निरन्तर समाचार लेख्ने एक अनलाइनले बीचमा १८ लाख रुपैयाको विज्ञापनको बार्गेनिङ गरेको दाबी गरे । उनले उक्त अनलाइनले पठाएको प्रस्ताव पनि सार्वजनिक गर्दै त्यो स्वीकार नगरेकै कारण आफु र सियोन स्कुलबारे निरन्तर समाचार लेखेको पनि बताए । विज्ञापनको नाममा मोटोर कम माग गरेको सम्बन्धमा उक्त अनलाइनका सञ्चालक, सम्पादकसहित प्रेस काउन्सिलको रोहबरमा ५ बुँदे लिखित सहमति भएको पनि थापा मगरले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

थापाका अनुसार उक्त अनलाइनका सञ्चालक र सम्पादकले भेटेर विज्ञापन दिनुपर्ने प्रस्ताव गरेको र प्रस्ताव १८ लाखको पठाएको बताए । ‘विज्ञापन १८ लाखको म कहाँ दिन सक्छु ?’उनले भने,‘त्यो नदिएर नै इगो भएर निरन्तर समाचार आएको हो ।’press 1

बैंकको ऋण तिरेपछि जग्गा फिर्ता हुन्छ: निर्देशक थापा

सियोन स्कुलका निर्देशक थापामाथि क्रिष्चियन संस्थाको नामको जग्गाा आफ्नो नाममा पारेको भन्ने आरोप लागेको थियो । पत्रकारहरुले सोधेको प्रश्नमा उनले स्कुल भवन बनाउदा सयकडा ४ ब्याजमा ऋण लिएको र बढ्दै गएपछि सियोन स्कुलको नाममा ल्याएर बैंकबाट ऋण लिएको दाबी गरे । ऋण तिरिसकेपछि संस्थाकै नाममा फर्काउने भनि मालपोत कार्यालयमा नै लिखित कागज गरेको उनको दाबी थियो ।