धरान: सामान्य विवादमा आफ्नै साथीले छुरा प्रहर गर्दा धरानका दुई युवा घाइते भएका छन् ।

छुरा लागेर घाइते हुनेमा धरान ४ का १८ बर्षीय अनन्त राई र धरान १५ का १९ बर्षीय पेम्बा लामा रहेका छन् । दुवैलाई आफ्नै साथी धरान १, सिंहदेवीका प्रकाश तामाङले छुरा प्रहार गरेका हुन् । अनन्तको बाँया कोखामा छुरा प्रहार भएको छ भने पेम्बाको हातको औला काटिएको छ ।

घाइते मध्ये अनन्तको अवस्था गम्भीर छ ।  दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । ‘दुवैको उपचार भइरहेको छ,’धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भने । डिएसपी न्यौपानेले भने दुवै खतरामुक्त भएको बताए । 

प्रहरीका अनुसार आज साँझ ४ जना साथीहरु पब्लिक स्कुलको दक्षिणी गेटबाहिर भेला भएका थिए । उनीहरुबीच कुराकानी भइरहदा विवाद भएपछि प्रकाशले छुरा प्रहार गरेको डिएसपी न्यौपानेले जानकारी दिए । ‘छुरा प्रहार गरेपछि प्रकाश फरार छ, खोजी भइरहेको छ । घटनाबारे अनुसन्धान शुरु गरिसकेका छौ,’डिएसपी न्यौपानेले भने ।