धरान: कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा पदाधिकारी, डाक्टर र कर्मचारीहरुको तलब जम्मा गर्न भन्दै धरान उपमहानगरपालिकाका मेयरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पठाएको पत्र बाहिरिएको छ।
मेयर तिलक राईले हस्ताक्षर गरेको उक्त पत्र बाहिरिएसँगै तीब्र आलोचना भइरहेको छ । मेयर राईले चैत २३ गते प्रतिष्ठानका उपकुलपतिलाई लेखेको पत्रमा पदाधिकारीको १५ दिनको पारिश्रमिक र डाक्टरलगायत कर्मचारीहरुको १० दिनको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउन आग्रह गरिएको छ । उपकुलपतिलाई लेखिएको पत्रको बोधार्थ फ्याकल्टी अफ मेडिसिन, कलेज अफ डेन्टल सर्जरी, कलेज अफ नर्सिङ, स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी र कर्मचारी कल्याण मञ्चलाई पनि दिइएको छ । बाहिरिएको पत्र चै स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटीलाई बोधाई दिएको हो ।
अहिले सामाजिक सञ्जालमा यही पत्रको चर्चा छ । अधिकांशले विपतको बेला ज्यान जोखिममा पर्ने गरि खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्ने बेला उल्टै चन्दा झैं तोकेर सहयोग मागेको भन्दै चर्को आलोचना गरिरहेका छन् । विभिन्न व्यक्तिले पत्रसहित गरेको पोष्टमा कमेन्टहरु पनि आलोचनाले भरिएको छ । ‘अलिकता लाज र अलिकता विवके मात्र पुर्याउदा पनि यस्तो निर्लज्ज चन्दा पत्र नआउनु पर्ने हो । वीपीका चिकित्सक र कर्मचारीसँग यसरी तोकेर पैसा माग्ने होइन, बरु यो अवस्थामा खटेको भनेर प्रोत्साहन गरौं । नगरले राहत दिउँ । यो गलत भयो, सच्याउनुस् महोदय,’पत्रकार मिलन विछोडले पोष्ट गरेका छन् ।
अर्का पत्रकार योगेश बाबु काफ्लेको पोष्टमा डा.राजेन्द्र शर्माले कमेन्ट गरेका छन्,'यो सरासर गलत प्रक्रिया हो । चन्दा भनेको स्वेच्छामा हुन्छ, प्रतिशत तोकेर माग्नु बेठिक हो ।' कांग्रेस युवा नेता विकास आचार्यले पनि पोष्ट गरेका छन्,'फ्रन्टलाईनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सुविधा र प्रोत्साहन भत्ता थपिदिनुपर्ने , विमा गरिदिनुपर्ने हो । अझ प्रदेश नम्बर १ कै कोरोना संक्रमण परिक्षण गर्ने अस्पताल जस्तो जोखिमपूर्ण स्थानमा काम गर्नेलाई हौसला दिनुको सट्टा पदीय हैसियत तोकेर यतिउती दिनको तलब कट्टा गरेर हामीलाई दे भन्नु नितान्त गलत हो, कसैले स्वेच्छाले दिन्छ भने बेग्लै हो । मेयरलाई यो गलत सल्लाह कसले दिएछ ?'
पत्रको बिषयमा मेयर राईसँग मोवाइल सम्पर्क गर्न प्रयास गर्दा मोवाइल उठेन । प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले पत्र आफुले पाए पनि त्यो आफुसँगै रहेको बताए । अरुलाई पनि बोधार्थ दिएको मध्ये कुनै पत्र बाहिरिएको हुनसक्ने उनले बताए । ‘पत्र आएको हो, मलाई आएको पत्र त मसँगै छ,’उनले भने,‘सहयोग माग्न नपाउने भन्ने होइन । त्यो उहाँहरुको कुरा भयो, दिने कि नदिने हाम्रो कुरा हो ।’