विराटनगर: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार अबको कोरोना संक्रमण पत्ता लगाउन परीक्षणमा केन्द्रीत हुने बताएका छन् ।
यसको लागि प्रदेश सरकारले र्यापिड टेष्ट पनि शुरु गरेको मुख्यमन्त्री राईले बताए । ‘‘हामीहरु अहिले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध लडाईमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाका लागि देश लकडाउन भएको पनि आज १८ दिन भएको छ,’’मुख्यमन्त्री राईले भने,‘‘हामीले प्रदेशबाटै कोरोना परीक्षण शुरु गरिसकेका छौं ।’’
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मात्र परीक्षण हुदै आएकोमा शुक्रबारबाट कोशी अस्पतालबाट पनि परीक्षण शुरुवात भएको छ । कोशीमा कम्तीमा ९६ जनाको स्वाब परीक्षण हुने गरी ल्याब संचालनमा आएको छ भने धरानमा कम्तीमा १२ जनाको परीक्षण हुदै आएको छ । ‘म जानकारी गराउन चाहन्छु, आजबाटै र्यापिड डाइग्नोष्टिक टेष्टको शुरुवात भएको छ । पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण कार्य आजबाटै शुरु भएको छ,’’मुख्यमन्त्री राईले भने ।
केही दिनभित्रै झण्डै ६ हजार जनाको कोरोना ल्याब टेष्ट गर्न सकिने र यसलाई तीव्र्र गति दिइने मुख्यमन्त्री राईले बताए । कोरोनालाई पराजित गर्न तथा प्रदेशवासीको सुरक्षाको ग्यारेन्टी गर्न परीक्षण महत्वपुर्ण हुने भएकोले सरकार अब त्यसमा केन्द्रीत भएको मुख्यमन्त्री राईको भनाई थियो । शुक्रबारसम्म १ सय ८० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएको छ भने १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । उपलब्ध अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सबै ठाउँ पठाइएको मुख्यमन्त्री राईले बताए ।
प्रदेशका ४८ स्थानमा ४ सय ३२ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियू तयार भएका छन् । २ सय ६१ ठाउँमा ४ हजार १ सय ९८ वटा क्यारेन्टाईन बेड बनेका छन् । यी बनेका क्वारेन्टाईनमा ६ सय ८ जना बस्नु भएको छ । हाम्रो प्रदेशमा होम क्वारेन्टाईनमा ३ हजार २ सय ९५ जना बस्नु भएको छ । क्वारेन्टाइनको रेखदेख मापदण्डअनुसार संचालनको अगुवाई सबै जिल्लामा नेपाली सेनाबाट हुने समेत मुख्यमन्त्री राईले अवगत गराए ।
प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनसुरक्षा कोषमा १२ करोड ८७ लाख ६६ हजार ६ सय ५३ रुपैयाँ जम्मा भएको पनि मुख्यमन्त्री राईले जानकारी दिए । ‘‘कोरोना भाइरस (कोभिड १९) नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता प्रदान गर्ने निर्णय गरिसकेका छौं,’’उनले भने,‘‘हामी अहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं । तपाईहरुको सुरक्षाका लागि हामी कुनै कसर बाँकी नराखी काम गरिरहेका छौं ।’’मुख्यमन्त्रीले उच्च मनोबलका साथ सामाजिक दुरी कायम गर्ने, भाइरसबाट संक्रमित हुनबाट बच्ने र अनुशासनको पालना गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र लकडाउनको पूर्ण रुपले पालना गर्न प्रदेशवासीलाई अपिल पनि गरे ।