इटहरीः इटहरीको जनता बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक व्यक्ति भागेका छन् । भागे पनि उनलाई नेपाली सेनाले समातेको छ ।

केही बेर अघि क्वारेन्टाइनबाट उनी भागेका थिए । उनीसहित १२ जनालाई केहि दिन अघि इटहरी उपमहानगरपालिकाले सो क्वारेन्टाइनमा राखेको थियो । सो समुहमा भारतीय पनि छन् । भागेका व्यक्ति भारतीय नागरिक रहेको बुझिएको छ ।

स्थानीय वासिन्दा एवंम सो क्याम्पसका संचालक समितिको सदस्यमसेत रहेका प्रमोद भट्टराईले करिब ४ सय मिटरको दुरीमा पुुगेर सशस्त्रको सहयोगमा नेपाली सेनाले पक्राउ गरेको जानकारी दिए । उनका अनुसार भाग्ने व्यक्ति चाउचाउ खाँदै भागेका थिए । उनी के कति कारणले भागेका हुन् पत्ता लाग्न सकेको छैन । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमसँग टेलिफोनमा सम्पर्क हुन सकेको छैन । हाल उक्त क्वारेन्टाइनमा २० व्यक्ति रहेको नगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले जानकारी दिएका छन् ।