विराटनगर: प्रदेश १ मा कोरोना रोग पत्ता लगाउन गरिने छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट परिक्षण शुरु भएसँगै नतिजा आउने संख्या पनि वृद्धि भएको छ ।
र्यापिड टेष्ट र पीसीआर विधिबाट प्रदेश १ मा मंगलबारसम्म ६ सय ५३ जनाको नमुना परीक्षण भएको छ । यो विधिअन्तर्गत मंगलबारसम्म र्यापिड टेष्टबाट ४ सय २ जनामा कोरोना परीक्षण गरिएको छ । ती सबैको नतिजा नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जसमा ५६ महिला र ३ सय ४६ पुरुष छन् ।
यसैगरी, पीसीआर विधिबाट गरिएको परीक्षण भई नतिजा आउनेको संख्या जम्मा २ सय ३९ पुगेको छ । ती मध्ये ४० महिला र १ सय ९९ पुरुष छन् । उनीहरुको पनि रिपोर्ट नेगेटिभ देखिएको छ । अन्य १२ जनाको नतिजा आउन बाँकी रहेको छ । गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनमा पनि र्यापिड टेष्ट शुरु भएको थियो । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको व्यवस्था गरेको छ भने विराटनगरको कोशी अस्पतालमा पनि परीक्षण भइरहेको छ ।
मंगलबारसम्म क्वारेन्टाइनमा बस्नेको ५ सय ३८ जना पुगेको छ । यस्तै, ५३ जना डिस्चार्ज भएका छन् । आइसोलेसन बेडमा मंगलबारसम्म १० जना बसिरहेका छन् । होम क्वारेन्टाइनमा कुल ३ हजार ६ सय ८० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।