धरान: बैशाख १ गते बिहान धरानको सडकबाट उद्दार गरेर ४४ जनालाई लांघाली सामुदायिक वन समुहको आवास गृहमा लगिएको थियो । दुई दिनयता संख्या बढेर ५६ जना पुगेको छ । ती मध्ये १४ जना महिला छन् ।

सडकमा वेवारिस तरिकाले बस्ने उनीहरुलाई क्वारेन्टाइनमा राखिदा बस्न सक्छन् र ? एक दिन पनि नटिक्ला, भागेर गै हाल्छन् नि ! यस्तै यस्तै सोचाई थियो । लकडाउनले घरभित्रै बस्नुपर्दाको छटपटिले गर्दा पनि झन् सडकमा आफ्नै मनमौजीरुपमा बाँच्नेहरु कसरी क्वारेन्टाइनमा बस्न सक्लान् ? सबैलाई यस्तै लाग्यो थियो । तर बुधबार(आज) मध्याह्न सोही आवास गृहमा पुग्दा त्यहाँको वातावरण निक्कै रमाइलो थियो ।

langhali11

पुरुषहरुलाई राखिएको कोठामा प्रवेश गर्दा कोही क्यारेम बोर्ड खेलिरहेका थिए, कोही लुडो खेलेर रमाइरहेका थिए । कोही एकअर्कासँग गफिदै त कोही मस्त निन्द्रामा देखिए । ‘मजा नै भइरहेको छ, बोर्ड अलिक ठुलो भए हुन्थ्यो,’क्यारेम बोर्ड खेलिरहेका एक किसोरले भने । लुडो खेलिरहेका अर्का व्यक्तिले बसाई, खानपिन बाहिरभन्दा राम्रो र रमाइलो भइरहेको सुनाए ।

'४ चिजको कमी छ'

आवास गृहमा बसिरहेका युवा जिवन लिम्बुले बसाई र खानपान सबै राम्रो भएपनि चार चिजको कमी भएको रमाइलो पारामा बताए । उनले जुत्ता, चप्पल, लगाउने कपडा सबै ठिक भएपनि खैनी, चुरोट, मासु र रक्सीको कमी भएको बताए । ‘मलाई मिनरल वाटरमा पानी भनेर रक्सी हालेर दिनुस् न,’ठट्यौली पारामा उनले भने,‘विराटनगरमा त कडा चेकिङ भएर केही छिराउनै दिदैनथ्यो, यहाँ त्यस्तो हुदैन रहेछ ।’

langhali7

बाथरुमको भेन्टिलेसनबाट ४ जना भागे, ३ जना भेटिए

सडकबाट उद्दार गरेर लांघाली आवास गृहमा राखेकै दिन बैशाख १ गतेको राती ४ जना बाथरुमको भेन्डिलेसनबाट भागेका थिए । उनीहरु भागेर पुनः भानुचोक क्षेत्रमा नै पुगेका रहेछन् । उनीहरुलाई भोलीपल्ट बिहानै(हिजो मंगलबार) धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रहरी, नगर प्रहरीसहितको टोलीले भेटेर पुनः आवास गृहमा नै लगेर राखिएको छ । अब भने उनीहरु पनि नभाग्ने भएका छन् ।

कपाल काटेर चिटिक्क पारियो

langhali5 1

आवास गृहमा बसिरहेका महिला तथा पुरुषहरुको आज बुधबार दिउँसो कपाल काट्ने व्यवस्था मिलाइएको थियो । होप धरानका अध्यक्ष निश्चल पलिखेको पहलमा धरान ९, पुतलीलाइनस्थित न्यु रोयल युनिसेक्स सेलुनको टिमले महिला तथा पुरुषहरुको कपाल काटिएको हो । सेलुनकी सञ्चालिका प्रश्ना बस्नेत अधिकारीसहितको टोलीले उनीहरुको कपाल काटिदिएका हुन् । नुहाई धुवाई र कपाल काटिएपछि सडकमा वेवारिस, फोहोर तरिकाले बस्नेहरु चिटिक्क फेरिएका छन् ।

मानसिक अवस्था परिवर्तन गराउने उद्देश्य

बिहान बिस्कुट र चिया खाजा खुवाइन्छ भने खाना ११ बजेभित्र खुवाइन्छ । दिउँसो खाजा र बेलुकी खाना खुवाइने ८ नम्बर वडा कार्यालयका सदस्य एवं सडक मानवहरुको व्यवस्थापन समिति संयोजक राम थापा मगरले बताए । हिजो मंगलबार प्रोटेक्टरबाट फिल्म पनि देखाइएको र लुडो, क्यारेमबोर्डलगायत खेल, मनोरञ्जन पनि गराइएको उनले बताए ।

langhali12

यस्तै, उनीहरुलाई मनोपरामर्शको पनि व्यवस्था गरिने समितिका सदस्य एवं महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले बताइन् । ‘वीपी प्रतिष्ठानसँग सहकार्य गरेर मनोपरामर्श दिइनेछ । पताञ्जली योग साधना समितिसँग सहकार्य गरेर योगा पनि गराइनेछ,’उनले भनिन्,‘मनोरञ्जनको लागि सांगीतिक कार्यक्रमहरु पनि गराउने योजना छ ।’

langhali 1 langhali1 1 langhali4 1 langhali2 1 langhali8 1 langhali9 langhali3 1 langhali13 langhali6 1 langhali15 langhali14