धरान: नेपालमा एकै दिन १४ जना कोरोना संक्रमितको संख्या थपिएको छ ।

ती मध्ये १२ जना प्रदेश नम्बर एकको उदयपुर जिल्लामा देखिएका हुन् । दुई जना चितवनका हुन् । नेपालमा कुल संक्रमितको संख्या ३० पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३, भुल्केस्थित मस्जिदमा रहेका १२ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु चैत १ गतेदेखि भुल्केमा रहदै आएका थिए ।

कोरोना संक्रमणको पुष्टि भएपछि त्यहाँ रहेका १२ भारतीय र ४ नेपालीलाई विराटनगर ल्याउने तयारी भएको छ भने भुल्केस्थित बस्तीलाई सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए । ‘एम्बुलेन्समा विराटगनर लैजाने तयारी हुदैछ,’उनले भने,‘थप संक्रमणको जोखिम ध्यान दिएर आवतजावत बन्द गराएका छौं, सुरक्षा मजबुत बनाएका छौं ।’

सहायक प्रजिअ भट्टराईका अनुसार ती व्यक्तिहरु मस्जिदमा क्वारेन्टाइनमा रहेका थिए । तर, उनीहरुलाई खाना पुर्याउन जाने व्यक्तिहरु संक्रमित भएको हुनसक्ने अनुमान भएकोले सिल गर्नुपरेको हो । यसअघि र्यापिड डायग्नोष्टिक टेष्ट गर्दा ती सबैको रिपोर्ट भने नेगेटिभ आएको पनि उनले जानकारी दिए ।

ती भारतीयहरुको ट्राभल हिष्ट्री हेर्दा उनीहरु मंसिर २५ गते जोगवनीबाट नेपाल प्रवेश गरेको देखिन्छ । साथै, मोरंगमा १ महिना बसेर सुनसरी प्रवेश गरेका थिए । सुनसरीमा पनि करिब डेढ महिना बसेर उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर फागुन २५ गते पुगेको र चैत १ गते भुल्के पुगेको ट्राभल हिष्ट्री छ ।