धरान: नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षको जिम्मेवारी पवन अधिकारीले सम्हालेका छन् ।

युनियनको आठौं जिल्ला अधिवेशनमा भएको सहमति वमोजिम अधिकारीले आज वैशाख ६ गतेदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । उनी आगामी नवौं अधिवेशनसम्मको लागि अब अध्यक्ष हुनेछन् । यसअघि २०७५ कार्तिक १८ गते भएको अधिवेशनले सहमतिको आधारमा २ जनालाई अध्यक्षमा चुनेको थियो भने मंसिर ७ गते पदस्थापना गरिएको थियो । जसअनुसार पहिलो अध्यक्षको कार्यकाल धनबहादुर पुरीले सम्हालेका थिए । पुरीले २०७५ कार्तिक १८ देखि ०७७ बैशाख ५ गतेसम्म युनियनको नेतृत्व सम्हाले ।

युनियनको जिल्ला नेतृत्व सम्हालेकै दिन शनिबार विज्ञप्ती जारी गर्दै अध्यक्ष अधिकारीले प्रतिकुल अवस्थामा पनि संघर्षपुर्ण इतिहास र अग्रजहरुले देखाएको बाटोमा विचलित नभै उद्देश्य हासिल गर्न अघि बढीरहने प्रतिवद्धता जनाएका छन् । संस्थागत हरेक गतिविधिहरु छलफल र सहमतिबाट नै अघि बढाउने पनि अध्यक्ष अधिकारीले प्रष्ट पारेका छन् ।

वर्तमान अवस्थामा कोरोनाले सञ्चारमाध्यम पनि प्रभावित भएको उल्लेख गर्दै उनले प्रदेश एक सरकारले पहिलो चरणमा यो क्षेत्रमा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुलाई राहत हुने गरि लोककल्याणकारी सुचनाप्रवाह स्वागतयोग्य भएको पनि उनले बताएका छन् । साथै उनले कोरोना संक्रमण अन्त्य नभएसम्मको लागि लोककल्याणकारी सुचना कायम राख्न, सञ्चारकर्मी र सञ्चारगृहको लागि राहत र सहुलियत प्रदान गर्न स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष माग पनि गरेका छन् ।