विराटनगरः प्रदेश एक सरकारले आवश्यक परे विपी प्रतिष्ठानका अन्य सेवा बन्द गरेर सबै वेड 'टेकओभर' गर्ने तयारी गरेको छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेकाअनुसार विपीमा हाल ७ सय ५० बेड रहेका छन् । अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रतिष्ठानमा १ सय वेडको अस्पताल कोरोना संक्रमणको विरामीका लागि अलग्गै बनाइएको छ । उदयपुरको पछिल्लो संक्रमणको दरले गर्दा प्रदेश एक सरकारले विशेष तयारी गरिरहेको छ ।
सामाजिक विकास मन्त्री घिमिरेका अनुसार अन्य निजी अस्पतालसँग समेत निरन्तर समन्वय भइरहेको छ । अहिले विराटनगरको नोवेल र झापाको बिएनसीले सरकारले चाहेको खण्डमा अस्पताल प्रयोग गर्न पाउने सार्वजनिक जानकारी दिइसकेको हुँदा आपत आइहाले तिनलाई कसरी संचालन गर्ने भन्ने बारे प्राविधिक जानकारी लिइरहेको मन्त्री घिमिरेको भनाई छ । उनका अनुसार मेची अस्पतालमा ५० शैयाको आइसोलेसन वेड बनाइएको छ । कोशीको कोरोना जाँच केन्द्रलाई प्रभावकारी बनाउँदै क्षमता बढाउँदै लगिने छ भने विपी प्रतिष्ठाको कोरोना जाँचको क्षमतालाइ समेत बढाउने सरकारी तयारी रहेको छ ।
मन्त्री घिमिरेले शुक्रवार मात्रै प्रदेश एकमा औषधी आपूर्ति गर्ने व्यवसायीसँग छलफल गरेका थिए । उनले औषधीको अभाव हुन नदिन र सरकारले गर्नुुपर्ने सहयोगका बारेमा छलफल भएको जानकारी दिए । विराटनगरमा कोशी अस्पतलको निगरानीमा हुने गरी १ सय वेडको अस्पताल विराटनगर १० मा तयारी गरिसकेको छ । जसमा उदयपुरका संक्रमित व्यक्तिहरुलाई शुक्रवार राती १२ बजे विराटनगर १० मा रहेको उक्त अस्पतालमा ल्याइएको छ । सामान्य अवस्थामा रहेको ती संक्रमितलाई उपचार थालिएको चिकित्सक डा. डीन प्रसाद आचार्यले जानकारी दिएका छन् ।