धरान: ईलाका प्रहरी कार्यालय धरानले २ थान हतियारसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान १३ का ४० बर्षीय मुलुकसिंं लिम्बु र झापा अर्जुनधारा ७ घर भई हाल धरान ११ मा डेरा गरि बस्ने १९ बर्षीय प्रक्षित जंग क्षेत्री रहेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । उनीहरुलाई शुक्रबार राती करिब ९ बजे धरानबाट १२ बोरको बन्दुक र र अर्को, राइफलको म्याग्जिन, गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बिशेष सुचनाको आधारमा धरान ११ स्थित सुचिम राईको घरको तलासी लिदा डेरा गरी बस्ने प्रक्षितजंग क्षेत्रीको कोठाबाट मेडइन क्यानाडा लेखिएको १२ बोरको बन्दुक भेटिएको प्रहरीले जनाएको छ । उक्त बन्दुक मुलुकसिंह लिम्बुको भएको खुलेपछि तत्काल लिम्बुको घरकोठामा तलासी गर्दा लङ राइफर र सो राइफलमा प्रयोग हुने म्यागजिन एक थान र गोली २ राउण्ड २ पनि फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतबाट मुलुकी अपराध (संहिता)ऐन, २०७४ अन्तर्गत हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा म्याद थप भई अनुसन्धान कार्य भै रहेको पनि डिएसपी न्यौपानेले जानकारी दिए ।