धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन (ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार) सेवा सुरू भएको छ ।

उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको पहलमा टेलिमेडिसन सेवा शुरु भएको हो । लकडाउनको कारण ओपिडी सेवा रोकिएर उपचारको लागि आउन नपाएका बीरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अवधारणा अनुसार अनलाईन चिकित्सा सेवा संचालनमा ल्याइएको सहप्रवक्ता डा.अशोक ऐरले जानकारी दिए । अस्पतालमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामी बाहेकका लागी यो सेवा निकै प्रभावकारी हुने प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरी शंकर साहले बताए ।

ई–लर्निङ र टेलिमेडिसिन प्रोग्राम अन्तरगत संचालन भईरहेको यो सेवा कोभिड १९ को कारण घरमा बसेका विरामीहरुले चिकित्सकहरूसंग प्रत्यक्ष संवाद गरी स्वास्थ्य सेवा, परामर्श लिन पाउनेछन् । यो सेवा लिनको लागि वीपी प्रतिष्ठानको वेबसाइट http://telemedicine.bpkihs.edu मा गएर बीरामीले आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । त्यहाँ विरामीले आफुलाई सहज हुने किसिमको संचार सेवा (टेलिफोन, स्काईप, भाइबर, ह्वाट्सयप) छान्न पाउने छन् ।

bpkihs

विरामीले भरेको फारमका आधारमा सम्बन्धीत बिषयका चिकित्सकलाई अपोइन्ट गरिने छ, र सेवा उपलब्ध गराइने प्रतिष्ठानका सहप्रवक्ता डा.ऐरले जानकारी दिए । ‘विल काट्नु पनि नपर्ने भयो भने पुर्जी काट्न लाइन बस्नु पनि परेन,’ऐरले भने,‘इर्मजेन्सी र भर्ना गरेर उपचार, अप्रेशन गर्नुपर्नेबाहेक विरामी आउनुपर्दैन । रिपोर्ट पनि त्यही देखाउन सकिन्छ ।’

ई–लर्निङ र टेलिमेडिसिन प्रोग्रामलाई प्रा.डा.नरेन्द्र भट्टले कोअर्डिनेटरको रूपमा समन्वय गर्नेछन् भने डा.परमेन्द्र प्रसाद गुप्ता मेडिकल कोअर्डिनेटरको रूपमा रहनेछन् । प्राविधिक समन्वयमा ईन्जिनियर राकेश कुमार दास र अनिष भट्टराईले गर्नेछन् । यो सेवा निःशुल्क र प्रदेश १ भरिको लागि उपलब्ध हुनेछ। विरामीले उपलब्ध गराएको विवरणको आधारमा २४ घण्टा भित्र प्रतिष्ठानको टेलिमेडिसिन सेन्टरबाट चिकित्सकले आफै विरामीलाई सम्पर्क गर्नेछन् । चिकित्सक र बिरामीबीचमा भिडियोबाट समेत संवाद गर्न सकिने हुँदा फोनमा व्याख्या गर्न नसकिएका कुरा पनि हेर्न सकिने हुनाले प्रभावकारी हुने प्रतिष्ठानले जनाएको छ ।