काठमाडौँ: नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएको र संक्रमितको संख्या ८२ पुगेको जनाएको छ । ती मध्ये नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ रहेको छ । आइतबार नेपालगञ्जमा १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासनले नेपालगञ्जमा तीन दिनका लागि निषेधाज्ञा जारी गरिसकेको छ । मन्त्रालयका अनुसार नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये १६ जना निको भएर घर फर्किएका छन् ।