विराटनगर ः कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज हुने भएका छन् ।

सामाजिक विकास मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुको स्वाब पुनः परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिन लागेको बताए । रिपोर्ट नेगेटिभ आएका ६ जनालाई भोली बुधबार विहान ८ वजे डिस्चार्ज गरिने मन्त्री घिमिरेले जानकारी दिए । डिस्चार्ज हुन लागेकाहरु उदयपुर जिल्लाका हुन् । वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जना कोरोना संक्रमित मध्ये ६ जनामा स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको मन्त्री घिमिरेले बताए ।

corona-hospital

मन्त्री घिमिरेका अनुसार तीन पटकसम्म उनीहरुको स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरिएको हो । डिस्चार्ज गरिने सवै भारतीय नागरिकहरु हुन् । डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् ।

डिस्चार्ज हुने सवैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिनेछ । त्यसको लागि क्वारेन्टाईनको स्थलगत निरीक्षण गरिएको मन्त्री घिमिरले बताए । उक्त मस्जिदमा १० वटा वेड रुम र १० वटा शौचालय छ । डिस्चार्ज हुनेहरुको रगत परीक्षणको काम बाँकी रहेकोले भोली विहान डिस्चार्ज गरिने लागेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताइन् । उनीहरु सबैको अवस्था सामान्य छ ।