विराटनगरः हिउँदे अधिवेशनकै बीचमा विशेष परिस्थिति सृजना भइ स्थगित भएको प्रदेश एकको संसद अधिवेशन जेठ १४ गतेदेखि शुरु हुने भएको छ ।

कोरोना महामारीका कारण गत वैशाख ३ गते राती १२ बजे देखि स्वतह स्थगित हुने सुचना प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जारी गरेका थिए । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको १ सय ८३ धाराको उपधारा २ बमोजिम प्रदेश सरकारले गरेको पाचौं एवंम हिउँदे अधिवेशन स्थगितको सिफारिसलाई सदर गरेपश्चात जेठ ६ गते अर्को सुचना जारी नहुन्जेलका लागि बैठक स्थगित भएको थियो । सोहि आधारमा आज पुनः प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले सुचना जारी गर्दै प्रदेश प्रमुख अधिकारीले संवैधानको १ सय ८३ धाराको उपधारा १ बमोजिम प्रदेश सभाको छैटौँ एवंम वजेट अधिवेशन आह्वान गरेको जानकारी दिएका छन् ।

सांसद, कर्मचारी, सुरक्षाकर्मी र संचारकर्मीको स्वाव परिक्षण गरिने

प्रदेश प्रमुखबाट जेठ १४ देखि वजेट अधिवेशन आव्हान भएपछि प्रदेश एकका सबै सांसदको कोरोना जाँचका लागि थ्रोट स्वाब परिक्षण हुने भएको छ । प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीका अनुसार भिडभाड हुने ठाउँ भएको हुँदा उत्पन्न परिस्थितिलाई मध्यनगर गरेर सम्भावित जोखिम कम गर्ने सबै उपाय प्रदेश सभाले अबलम्बन गर्नेछ। सांसदसँगै उनिहरुका स्वकीय सचिव, कर्मचारी, सुरक्षाकर्मी र संसदीय मामिलामा नियमित रिपोर्टिङ गर्ने पत्रकारको समेत स्वाब परिक्षण गरिने छ ।