धरान: महत्वपुर्ण आयोजनाकोरुपमा हेरिएको धरानको सर्दु करिडोरको निर्माण कार्य अघि बढाउनेबारे सम्बन्धित वडा र प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुबीच छलफल भएको छ ।

धरान उपमहानगरपालिकाले आज बुधबार आयोजना गरेको छलफलमा धरान-चतरा सडकखण्डको सर्दुस्थित पुललाई जिरोपोइन्ट मानेर निर्माण कार्य अघि बढाउने सहमति भएको छ । पहिलो चरणमा धरान १३, देवीमार्गस्थित झोलुङ्गे पुलसम्मको ७ किलोमिटर खण्ड निर्माण गरिनेछ । निर्माण कार्य अघि बढाउन सर्दु करिडोरमा के कति घर तथा भौतिक संरचनाहरु पर्छ भनेर सर्वे पनि गर्ने सहमति भएको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन् । ‘करिडोरको सर्वे डिजाइनबारे जानकारी पाइयो । करिडोरको जिरोपोइन्ट सर्दु खोलाको पुललाई मानेर देवी मार्गको झोलुङ्गे पुलसम्म निर्माण कार्य अघि बढाउने समझदारी भएको छ,’उपमेयर भण्डारीले भनिन् ।

उनका अनुसार छलफलमा सिचाई डिभिजन कार्यालयका प्रमुख चुडाराज ढकाल पनि सहभागी थिए । सर्दु करिडोर प्रदेशको सिचाई डिभिजन कार्यालयमार्फत निर्माण कार्य हुदैछ । यसको लागि डिभिजन कार्यालयले टेण्डरसमेत आह्वान गरिसकेको छ । करिडोरको आधार क्षेत्र रहेको वडाहरु १७, १६, ११ र १३ का अध्यक्षसहित प्रमुख राजनीतिक दलका नेतहरुसँग छलफल गरिएको उपमेयर भण्डारीले बताइन् । उनका अनुसार करिडोर क्षेत्रमा पर्ने केही घर, संरचनालाई वैकल्पिक व्यवस्था गरेर स्थानान्तरण पनि गरिनेछ ।

वडा नं १७ का अध्यक्ष मनोज भट्टराईका अनुसार पहिलो चरणको ७ किलोमिटर निर्माण गर्ने क्षेत्रमा के कति घर, संचरनाहरु पर्छन् भनेर सर्वे गर्ने निर्णय भएको छ । त्यसक्षेत्रमा पर्ने पुराना वस्ती र नयाँ बसेका घरहरुबारे पुनः दलीय सहमति जुटाउन छलफल हुने पनि उनले बताए । ‘पुराना घरहरुलाई वैकल्पिक व्यवस्था गर्ने र भर्खर नयाँ बसेका संरचनाहरुलाई हटाउन राजनीतिक दलहरुबीच सहमति कायम गर्ने भन्ने भयो,’अध्यक्ष भट्टराईले भने,‘पहिला त के कति घर, संचरना पर्छन् भन्ने थाह पाउनुपर्यो, त्यसको लागि सर्वे गरिनेछ ।’

सर्दु र सेउती खोला किनारको वस्तीहरु बर्षेनी बाढीको चपेटामा पर्दै आएका छन् । ती दुवै खोला किनारमा सर्दु र सेउती करिडोरको योजना उपमहानगरपालिकाले अघि बढाएको थियो । यसपाली सर्दु करिडोरको काम मात्र अघि बढ्ने भएको हो । यो परियोजनाले धरानको रिङ रोडको अवधारणालाई मुर्तरुप दिनेछ भने बर्षेनी बाढीको चपेटाबाट वस्तीहरुलाई पनि मुक्ति दिनेछ । साथै, बाढीबाट जोगिन बर्षेनी अस्थायी सुरक्षा संरचना, तारजालीमा हुने करोडौंको खर्च पनि जोगिने उपमेयर भण्डारीले बताइन् । ‘धरानको लागि यो ज्यादै महत्वपुर्ण परियोजना हो । यसले पञ्चायतकालदेखि नै तारजालीमा भइरहेको खर्चलाई पनि जोगाउछ,’उनले भनिन् ।