एजेन्सी: चीन र भारतबीच लद्दाखको सीमा क्षेत्रमा तनाव बढिरहेका बेला दुबै देशले सीमामा थप सुरक्षा फौज खटाएका छन्।

दुबै देशले सीमामा पाँचरपाँच हजार सैनिक र सैन्य सामग्री थपेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। मे ५ मा लद्दाखको प्यान्गोङ सो हिमताल नजिकै दुई देशका सैनिकहरूबीच धकेलाधकेल भएको थियो। उक्त धकेलाधकेलमा परी दुबैतर्फका केही सैनिकहरू घाइते भएका थिए।

भारतीय सञ्चारमाध्यमहरूले सन् १९९९ को कार्गिल युद्धपछि पहिलो पटक लद्दाखमा चिनियाँ सैनिकसँग तनाव तीव्र भएको बताएका छन्। पछिल्ला दिनमा पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको उनीहरूको दाबी छ।

सीमा क्षेत्रमा तनाव बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रिय सुरक्षा सल्लाहकारसहित अधिकारीहरूसँग छलफल गरेका छन्। मंगलबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङले जनमुक्ति सेनालाई लडाइँका लागि तयारी बढाउन निर्देशन दिएका छन्। चीन र भारतबीच ४ हजार किलोमिटरभन्दा बढी सीमा जोडिएको छ। तीमध्ये कतिपय ठाउँमा अहिले पनि सीमा एकिन भएको छैन। लाइन अफ कन्ट्रोल कुन हो भन्ने एकिन नहुँदा सीमामा तैनाथ दुबै देशका सेनाहरूबीच धकेलाधकेल भइरहन्छ।

पछिल्लो समय सीमामा खटिने दुबै देशका सैनिकहरूसँग हतियार नहुने भएकाले उनीहरूको विवादमा गोली हानाहान भने हुँदैन। तीन वर्षअघि चीन,भारत र भुटानको सीमामा पर्ने दोक्लम क्षेत्रमा दुई देशका सैनिक आमनेसामने भएका थिए। दोक्लम क्षेत्रमा चीनले बाटो बनाएपछि भारतले रोक्न खोजेको थियो।