धरान: नेकपा धरान उपमहानगर कमिटीले संसदीय दललाई धरान क्षेत्रमा ५ हजारको पिसिआर परीक्षणको प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्नु एकदिन अघि आज नेकपा धरानको कार्यालय र नेकपा सम्बद्ध जनप्रतिनिधिहरुको पदाधिकारीको संयुक्त बैठकमा यस्तो निर्णय भएको हो । नगरबासीहरु कोरोना महामारीबाट सुरक्षित छन् भन्ने सुनिश्चित गर्न २० वटै वडामा सेक्टर(क्षेत्र) बनाएर नमुना संकलन गरी ५ हजार संख्यामा पिसिआर परीक्षण गर्न संसदीय दललाई निर्देशन दिइएको नेकपाका नगर इञ्चार्ज फोक्वाहाङ सुब्बा(चोत्लुङ)ले बताए ।
‘बैठकले परीक्षणको दायरा बढाउन र ५ हजारको संख्यामा पिसिआर परीक्षण गर्न संसदीय दललाई निर्देशन दिइएको छ,’इञ्चार्ज चोत्लुङले भने,‘यसअघि पनि नगर सरकारलाई परीक्षणको दायरा बढाउन आग्रह गरेका थियौं, आजको बैठकले प्रक्रिया अघि बढाउन र समग्र नगरबासीको स्वास्थ्य अवस्था सुरक्षित भएको सुनिश्चित गर्न पुनः जनप्रतिनिधि एवं स्थानीय सरकारलाई पनि आग्रह गर्न चाहन्छौं ।’ उनका अनुसार बैठकले छैटौं नगरसभाले पारित गरेको निर्णयहरु कार्यान्वयन गर्न, गराउन पनि संसदीय दललाई निर्देशन दिएको छ । धरान उपमहानगरपालिकाको नेतृत्व(मेयर)मा कांग्रेस भए पनि नगर कार्यपालिका र नगरसभामा नेकपाको दुई तिहाई बहुमत छ ।
नेकपा धरानको संसदीय दलको नेता उपमेयर मञ्जु भण्डारी सुवेदी छिन् भने उपनेतामा धरान २० का वडाअध्यक्ष एवं कार्यपालिका सदस्य मणिराम राई छन् । यस्तै, प्रमुख सचेतकमा वडा १५ का अध्यक्ष नरेश इवारम र सचेतकमा वडा १७ का अध्यक्ष मनोज भट्टराई रहेका छन् । यस्तै, नेकपाको ५ सदस्यीय कार्यलय टिममा अध्यक्ष नारायण सुवेदी, राजमणी निरौला, पारस काङमाङ र मनोज भट्टराई रहेका छन् । आजको बैठकमा नगर इञ्र्चा चोत्लुङ र सहइञ्चार्ज पदम इस्वो पनि सहभागी थिए ।