धरान: धरान ८ स्थित कविर टोलका एक व्यापारीले विहारबाट आएकी छोरीलाई बोर्डरमा लिन गएर हिजो राती नै घर ल्याएको खुलेको छ ।
स्थानीयबासीले यो कुरा थाह पाएपछि आज बिहानै टोल विकास संस्थामार्फत प्रहरीमा खबर गरेका थिए । केहीबेर अघि एम्बुलेन्ससहित आएको प्रहरीले छोरीसहित आमा–बुवालाई पनि लिएर गएको स्थानीय सुरज लामाले जानकारी दिए । उनका अनुसार लकडाउन अघि विहारको प्रतापगञ्जस्थित आफन्तको घरमा गएकी छोरीलाई ती व्यापारीले हिजो राती राती ११ बजे बोर्डरबाट स्कुटीमा लिएर आएका थिए । उनले जोगवनी बोर्डरबाट छोरीलाई स्कुटरमा ल्याएको पाइएको छ । ‘भारतमा कोरोना पोजेटिभको संख्या बढ्दै गएपछि छोरी डराएर हिजो राती नै स्कुटरमा लिन गएछ, र राती ११ बजे आइपुगेको रहेछ,’लामाले भने ।
ती व्यापारीको घरमै रेडिमेड कपडा पसल छ भने खाद्यान्नको होलसेल पसल पनि उनले सञ्चालन गरेका छन् । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार परिवारका सबैजनालाई एम्बुलेन्समा लिएर वीपी प्रतिष्ठान लगिएको छ । उनीहरुको स्वास्थ्य जाँच पछि चिकित्सकको आवश्यक राय, सल्लाह अनुसार क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा पठाइने ओलीले बताए । ‘स्वास्थ्य जाँचको लागि वीपी लगिएको छ, डाक्टरको सल्लाह अनुसार गछौं,’उनले भने ।







