धरान: केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा पोषण विज्ञान अध्ययन गरेका विद्यार्थीहरु नेपाल हेल्थ प्रोफेस्नल काउन्सिल(एनएचपिसि)मा दर्ता हुन नपाउदा बेरोजगार बस्नु परेको भन्दै प्रदेश सांसद सावित्री जोशीले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

सांसद जोशीले आज प्रदेशसभा बैठकमा जोशीले प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएकी हुन् । ‘धरान एउटा शिक्षाको राजधानी पनि भनिन्छ, तर पनि धरानको वडा नं १४ मा केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा डाइटिसियन एनएचपिसिमा दर्ता भएर काम पाउनुपर्ने हो, तर त्यहाँका विद्यार्थीहरुले काम पाइरहेका छैन,’उनले भनिन् । सांसद जोशीले कोरोनासँग लड्नको लागि सन्तुलित एवं पोषणयुक्त खानाको आवश्यकता हुने र त्यसको लागि डाइटिसियनको आवश्यकता पर्ने बताइन् ।

सांसद जोशीले स्वास्थ्यकर्मीसँगै डाइटिसियन पनि हरेक अस्पताल र स्थानीय निकायमा राख्नुपर्ने पनि माग गरिन् । ‘हामी लकडाउनमा छौं । दिनचर्या केही छैन । कोरोनासँग लड्न के खानुपर्ने, कसरी खानुपर्ने हामीलाई कति कुराहरुमा जानकारी नहुनसक्छ,’उनले भनिन्,‘असन्तुलित खानपानले कुपोषण तथा धेरै प्रकारको रोगले आक्रमण गर्छ । यसबाट बच्न स्वास्थ्यकर्मीको अतिरिक्त डाइटिसियनको पनि प्रत्येक अस्पतालहरुमा र स्थानीय निकायमा राख्नुपर्ने टड्कारो आवश्यकता छ ।’

केन्द्रीय प्रविधि क्याम्पसमा डाइटिसियन स्नातक अध्ययन प्रारम्भ भए पनि एनएचपिसिमा दर्ता हुन नपाउदा बेरोगजार भएर बस्नु परेको पनि सांसद जोशीले बताइन् । क्याम्पसले विगत २ बर्षदेखि दर्ता प्रक्रिया अघि बढाए पनि दर्ता हुन नसक्केको भन्दै उनले प्रदेश सरकारमार्फत संघीय सरकार र स्वास्थ्य मन्त्रालयको पनि ध्यानाकर्षण गराइन् ।

‘कोडिभ १९ को महामारीबाट बच्न आवश्यक पर्ने डाइटिसियनहरुको आवेदन कर्णाली प्रदेश सरकार, बागमती प्रदेशले आवेदन माग गरेको हुदा प्रदेश १ सरकार तथा स्थानीय सरकारसमेतले यस्तो जनशक्तिलाई रोजगार दिएर उनीहरुको दक्षता र क्षमताको सदुपयोग गरेर बेरोजगारी समस्या समाधान गर्न हुन सभामुखमार्फत प्रदेश सरकार र केन्द्रीय सरकारको पनि ध्यानाकर्षण गर्न चाहन्छुँ,’सांसद जोशीले भनिन् ।