धरान: धरान उपमहानगरपालिकाले असार १० गते नगरसभा गर्ने भनेर वडाका जनप्रतिनिधिहरुलाई पत्राचार गरिसकेको छ । तर, नगरसभा अघि नै हुनपर्ने बजेटको सिलिङ भने आजसम्म पनि वडामा पुगेको छैन ।

उपमेयर मञ्जु भण्डारी सुवेदी संयोजक रहेको राजश्व परामर्श समितिले आन्तरिक आयको प्रक्षेपण गरिसकेको छ । अब मेयर तिलक राई संयोजक रहेको समितिले बजेट सिलिङ गरेर वडाहरुमा पठाउनुपर्ने हो । तर, आजसम्म पनि बजेटको सिलिङ वडाहरुमा पठाउन सकेको छैन । यसले वडाअध्यक्षहरुमा असन्तुष्टी छ भने नगरसभा कसरी होला भन्नेमा अन्योल छ ।

उपमेयर संयोजक रहेको राजश्व परामर्श समितिले नगरको आयको प्रक्षेपण गरेपछि मेयर संयोजक रहेको सिलिङ समितिले संघ, प्रदेशलगयातबाट आउने बजेट(आम्दानी)लाई मिलाएर वडाहरुलाई दिने बजेटको सिलिङ तोक्नुपर्छ । त्यसपछि, वडाहरुले आफ्नो योजना छनौट गरेर पठाउछ । तर, वडामा सिलिङ नआइकनै एकैचोटी नगरसभा गर्ने पत्र आएको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले बताए । बिषयगत समितिहरुसँग पनि योजना तथा बजेटबारे छलफल नभएको उनले बताए । ‘बजेटको सिलिङ आएको छैन तर नगरसभा १० गते भन्ने पत्र आइसक्यो । बिषयगत समितिहरुसँग पनि छलफल छैन,’उनले भने ।

राजश्व परामर्श समितिको संयोजक एवं उपमेयर भण्डारीले आफुले आयको प्रक्षेपण गरेर बुझाइसकेको बताइन् । अब मेयर संयोजक रहेको सिलिङ समितिले प्रदेश, संघबाट आउने बजेटलाई मिलाएर सिलिङ वडाहरुमा पठाउनुपर्ने उनले बताइन् । सिलिङ समितिका सदस्यसमेत रहेका वडा नं १७ का अध्यक्ष मनोज भट्टराईका अनुसार मेयर राईले नगरमुखी बजेट बनाउने सिलिङको प्रस्ताव गरेपछि समितिमा सहमति जुट्न नसकेको हो । ‘मेयर साबले बजेट सिलिङको प्रस्ताव ल्याउनु भयो तर बजेट नगरमुखी भयो भनेर वडाअध्यक्षहरुको गुनासो भयो,’भट्टराईले भने,‘वडाको मर्म, भावना अनुरुप सिलिङ वडामुखी बनाउनुपर्छ भन्ने हो ।’

अध्यक्ष भट्टराईका अनुसार मेयर राईले धरानको २० वटै वडाको लागि १० करोडको मात्र सिलिङको प्रस्ताव गरेका थिए । यसमा समितिकै सदस्यहरु सन्तुष्ट भएनन् भने अन्य वडाअध्यक्षहरु पनि असन्तुष्ट भए । त्यसपछि, सहमति जुटाउन ४ जना वडाअध्यक्षलाई जिम्मा दिइएको थियो । वडा नं १८, २, १७ र १५ का अध्यक्षहरुले पनि सिलिङमा सहमति जुटाउन सकेनन् । ‘मैले नै २२ करोडको सिलिङ प्रस्ताव गरेको थिएँ, वडाको भुगोल, जनसंख्या, आय सबै हेरेर दिनुपर्छ भने, तर सहमति जुटेन,’उनले भने । चालु आर्थिक बर्षमा पनि २२ करोड ४० लाख सिलिङ तोकिएको थियो ।

मेयर तिलक राईले भने संक्षिप्त प्रतिक्रिया दिदै असार १० गते नगरसभा गर्नै पर्ने कानुनी प्रावधान भएकोले सभा बोलाइएको बताए । उनले बजेटको सिलिङ विस्तारै आउने पनि बताए । ‘नीति तथा कार्यक्रम पनि आउछ, बजेटको सिलिङ पनि विस्तारै आउछ,’मेयर राईको प्रतिक्रिया थियो ।