विराटनगरः कोभिड १९ अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मीले तलब नपाएको भन्दै प्रदेश सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज प्रदेश १ संसदको सुन्य समयमा बोल्दै सांसद राजकुमार ओझाले मोरङको गोठगाउँमा संचालित प्रदेश १ सरकारको कोभिड १९ अस्पतालमा कार्यरत नर्सहरुले पारिश्रमिक पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले जोखिमपुुर्ण ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुपर्ने बेलामा अहिलेसम्म काम गरेअनुसार पारिश्रमीक नपाउनु दुखद कुरा रहेको भन्दै सरकारले समस्या सम्बोधनका लागि तुरुन्त पहल गर्न माग गरे ।

त्यस्तै ओझाले कोभिड १९ उपचार अस्पतालमा विरामी ल्याउन र पुुर्याउन सवारी साधनको व्यवस्था नभएको समेत बताए । संवेदनशिल उपचार केन्द्रमा सवारी साधनको उपलब्धता नहुनु दुःखद कुरा रहेको भन्दै त्यसको व्यवस्थापनमा प्रदेश सरकार लाग्नुपर्ने बताए । ओझाले पूर्वपश्चिम राजमार्गबाट गोठगाउँको सो अस्पतालसम्म पुुग्न सडक मर्मत गर्नुपर्ने अवस्था आएको हुँदा तत्काल मर्मत गर्नसमेत माग गरेका छन् ।

यता विपक्षी दल नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले विराटनगरको कोभिड १९ उपचार केन्द्रमा अक्सिजन आवश्यक पर्ने विरामीलाई अक्सिजन उपलब्ध नहुँदा धरान रेफर गर्नुपरेको बताए। मन्त्रीहरुले सबै भन्दा राम्रो उपचार हुने ठाउँ रहेको भए पनि विरामीलाई रेफर गर्न बाध्य हुनुपरिरहेको बेला त्यस्तो अस्पतालमा मात्र पैसा किन खन्याएको भन्दै प्रश्न गरे । उनले मन्त्रीहरुले कोभिड १९ को राम्रो उपचार हुने भनिए पनि अझै सरकारको तयारी पुरा नभएको जिकिर गरे ।