विराटनगरः प्रदेश १ मन्त्रीपरिषदको बैठक सम्पन्न भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ । जसमा प्रदेश सेवाका कार्मचारी पदस्थापन तथा सरुवा सम्बन्धि कार्यविधि २०७६ लाई दोस्रो संशोधनको कार्यविधि स्वीकृत गरेको छ । यस्तै, प्रदेश प्रहरी सम्बन्धमा बनेको विधेयक २०७७ लाई संसदमा छलफलका लागि पेश गर्न अनुमती प्रदान गर्ने निर्णय पनि उक्त बैठकले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिएका छन् ।

यस्तै, प्रदेश सवारी तथा यातायात व्यवस्था गर्ने ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि बैठकले स्वीकृती प्रदान गर्ने निर्णय गरेको छ । उर्लावारीको मदन भण्डारी स्मृती प्रतिष्ठान नेपालको लागि टेस्टिङ ल्याब संचालन गर्नका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने साथै संचालन गर्न अनुमती प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै, प्रदेश सरकारले प्रदेश स्तरीय स्वास्थ्य ल्याव स्थापना गर्न सामाजिक विकास मन्त्रालयलाई अनुमती प्रदान गरेको छ भने उक्त यो ल्याबलाई प्रदेश सरकारले महत्वको योजनाको रूपमा अघि सारेको मन्त्री कार्कीले बताए । उक्त ल्याबलाई सेन्ट्रल ल्याबको रूपमा विकास गरिने पनि उनले बताए ।