धरानः आज हरिशयनी एकादशी । हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर यो पर्व मनाउँदैछन्।

आषाढ शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी भनिन्छ। ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ ।

हिन्दु धर्ममा तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ। प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने शास्त्रीय परम्परा रहेको छ। हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ।

तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ। वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ।चतुर्मासभर पूजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति हो भने यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ। मानव उपयोगी वनस्पति भएकाले यो वनस्पतिलाई भगवान् विष्णु वा उनको प्रिय वस्तुका रूपमा पूजा गरिएको तर्क गर्नेहरू पनि छन्।