धरान: कोभिड १९ को महामारीको कारण इतिहासमा नै पहिलो पटक नेपालमा ब्रिटिश गोर्खा सैनिकको भर्ती रोकिएको छ ।

बर्षेनी नेपाली युवाहरु ब्रिटिश सैनिकमा भर्ती हुने सपना बोकेका हुन्छन् । तर यो बर्ष भने गोर्खा भर्तीको छनौट नहुने जानकारीको सुचना ब्रिटिश आर्मीको ब्रिगेड अफ गोर्खाले आफ्नो वेभसाइटमार्फत दिएको छ । आगामी बर्ष सन् २०२१ को लागि भर्ती बन्द भएको हो । ब्रिटिश गोर्खा नेपालका कमाण्डर एवं महासेनानी रिचर्ड गुडम्यानले निकालेको सुचनामा कोरोना भाइरसको महामारीले गर्दा अहिलेको समयमा रिक्रुटिङको कुनै पनि गतिविधि सञ्चालन गर्न सम्भव नभएकोले रजिष्ट्रेशन र क्षेत्रीय छनौट रद्द गर्नुपरेको उल्लेख छ ।

अवस्थामा सुधार आएपछि केन्द्रीय छनौट सञ्चालन हुने पनि ब्रिटिश गोर्खा नेपालले जनाएको छ । केन्द्रीय छनौट हुने अवस्था आएमा रेक्रुट इन्टेक २०२० को क्षेत्रीय तथा सेन्ट्रल छनौटतमा उत्तम नतिजा ल्याएकाहरुलाई मात्र बोलाउने सुचनामा उल्लेख छ । ‘यसको मतलब यो बर्ष पहिलो पल्ट फारम भर्नेहरुले मौका पाउने छैन । सेन्ट्रल सेलेक्सन हुने भयो भने हामीले भाइहरुको नामावली हाम्रो बेबसाइटमा प्रकाशित गर्नेछौं, तथा सबै भाईहरुलाई फोन मार्फत सुचित गराउनेछौं,’सुचनामा भनिएको छ,‘हामी यो कुराको निर्णय २०२० सेप्टेम्बर महिनाको १ तारिक हाम्रो बेबसाइटद्वारा अवगत गराउनेछौं ।’

british-army1

गोर्खा भर्ती गर्ने युवाहरुलाई तालिम दिन धरान १८ मा स्थापना भएको गोर्खा कम्पनी ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक प्रेमकुमार राईका अनुसार कोभिड १९ को कारण २ सय बर्ष भन्दा बढी इतिहास बोकेको ब्रिटिश गोर्खा भर्ती इतिहासमै पहिलो पटक रोकिएको हो । सन् २०२१ को भर्तीको लागि नाम दर्ता र क्षेत्रीय छनौटको मिति समेत तय भइसकेको भए पनि कोभिड १९ को कारण बन्द भएको राईले बताए । ‘ब्रिटिश गोर्खा धरानको नयाँ नाम दर्ता २३ मे देखि १० जुलाईसम्म थियो । त्यसै गरि ब्रिटिश गोर्खा पोखरा २१ मे देखि १० जुलाई २०२० सम्म थियो,’उनले भने,‘इतिहासमै पहिलो पटक गोर्खा भर्ती रोकिएको हो ।’

गोर्खा भर्तीको लागि क्षेत्रीय छनौटको लागि धरानमा २१ सेप्टेम्बरदेखि १८ अक्टोबरसम्म मिति तोकिएको थियो भने पोखरामा ९ अगष्टदेखि १० सेप्टेम्बरसम्म तय भइसकेको थियो । तर, करिब २ साताअघि बिग्रेड अफ गोर्खाले भर्ती रोकिएको जानकारी दिएको थियो । ‘अब अवस्थामा सुधार हुँदा १ सेप्टेम्बरमा सुचना निकालेर सिधै केन्द्रीय छनौट मात्र हुन्छ, र त्यसबेला पनि गत बर्षको क्षेत्रीय र केन्द्रीय छनौटमा राम्रो अंक ल्याएर पनि असफल भएकाहरुलाई मात्र मौका दिने भन्ने छ ।’ पहिलो बिश्वयुद्ध सन् १८१४ को समयदेखि नै तत्कालिन इष्ट इण्डिया कम्पनीले नेपाली युवाहरुलाई भर्ती गरेको इतिहास छ । ब्रिटिश आर्मीमा ४३२ र सिंगापुर पुलिसमा १२० गरी कुल ५५२ जनाको कोटा थियो ।